समाचार

अब एक घण्टाभित्रै श्रम स्वीकृति हुन्छः श्रम मन्त्री अर्याल

नवलपुर टुडे
२०८० चैत्र २५ | मध्यान्ह ०५:१२ बजे

काठमाडौं, चैत २५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् ।

वैदेशिक रोजगार कार्यालयमा आइतबार भएको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृति एक घण्टाभित्रै स्वीकृत हुने बताए ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेस गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सक्ने प्रणाली विकास भएको उनको भनाइ छ ।

अनलाइनबाट सही तरिकाले कागजात पेस गरेको २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्न सक्ने अवस्था भएको तर प्रविधिका समस्या, प्रणाली, विद्युत र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिन सक्ने सकिने अवस्था रहेको उनले जानकारी दिए ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले सम्पूर्ण कागज अनलाइनबाट कागजात पेश गरी प्रक्रिया पूरा गरे एक घण्टामा श्रमिकको मोबाइलमा नै श्रम स्वीकृती पाउन सक्ने उनले बताए ।

‘वैदेशिक रोजगारीको लागि विदेशमा जान श्रमिकले लिने व्यक्तिगत, संस्थागत र अन्य सबै खालका श्रम स्वीकृत वैदेशिक रोजगार कार्यालयबाट एक घण्टामा स्वीकृत दिन्छौं,’ उनले भने ।

मन्त्री अर्यालले पहिलो पटक यो प्रयास सुरू गरिएको बताए। वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्थाको आजदेखि अन्त्य भएको उनको भनाइ छ । 

(न्युज एजेन्सी नेपाल)

कमेन्टहरु