समाचार

होस्टेलको पाँच तलामाथिबाट हाम फालेर किशोरीले गरिन् आत्महत्या

नवलपुर टुडे
२०८० चैत्र २३ | मध्यान्ह ०२:१२ बजे

दोलखा, चैत २३ । दोलखामा होस्टेलको पाँच तलामाथिबाट हाम फालेर एक किशोरीले आत्महत्या गरेकी छिन् ।

कास्कीको पोखरा महानगरपालिका १० रामबजार घर भई हाल दोलखामा बसेर नर्सिङ पढ्दै गरेकी १८ वर्षीया करुणा अधिकारीले होस्टेलको पाँच तला माथिबाट हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

‘उनी चरिकोटस्थित च्छो रोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत रहेको खुलेको छ,’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । तर, होस्टेल सञ्चालकका अनुसार उनले डिप्रेशनको औषधि खाइरहेकी थिइन् । हामी थप अनुसन्धान गरिरहेका छौँ ।’

बिदामा पोखरास्थित घर गएकी उनी गत बुधबार मात्र चरिकोट फर्किएकी थिइन् । उनी होस्टेलमा साथीहरुसँगै बस्थिन । बिहीबार साँझ सवा ७ बजे होस्टेल रहेको बिल्डिङको पाँच तला माथिबाट करुणाले हाम फालेको उनीसँगै बसेका साथीहरुले बताएका छन् ।

हाम फालेर गम्भीर घाइते भएकी उनलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँ लगिएको थियो । उपचारको क्रममा गएराति ‍११ बजे उनको भक्तपुरको मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

कमेन्टहरु