अमरेन्द्र यादव ‘कमेडी च्याम्पियन सिजन ३’ को टप टेनमा पर्न सफल नवोदित कलाकार हुन्


रौतहट, चैत २२ । रौतहटको कटहरिया नगरपालिकाको डुमरियाका अमरेन्द्र यादव नवोदित कलाकार हुन् । सानैदेखि हास्य कलाकारितामा रुची राख्ने यादव ‘कमेडी च्याम्पियन सिजन ३’ को टप टेनमा पर्न सफल भएपछि हास्य कलाकारितामा जम्न थालेका हुन् ।
बाल्यकालदेखि हाँस्ने र हँसाउने रुची राख्ने उनी भारतीय कलाकार कपिल शर्माको सो हेरेर झन् प्रभावित भएको बताउँछन् । यादवलाई अहिले हास्य कलाकारिताको क्षेत्रमा भ्याइनभ्याइ छ । जताततै नवोदित हास्य कलाकार भनेर बोलाउने र कला प्रस्तुतिको अवसर पाइरहेकोले हास्य कलाकारिताले आफ्नो सम्मान बढाएको यादव बताउँछन् ।
विज्ञान विषय लिएर १२ कक्षासम्म अध्ययन गरी काठमाडौंमा बसेर एमबिबिएसमा प्रवेश परीक्षाको तयारी गर्दै गरेको अवस्थामा आफूले ‘कमेडी च्याम्पियन सिजन ३’ को बारेमा सुनेर सहभागी भएको यादवले बताए । सहभागी भएपछि अतिथि तथा विशिष्ट कलाकारहरूले निकै प्रशंसा गर्दा आफू उत्साहित भएको र हास्य कलाकारिताको क्षेत्रमा पनि भविष्य देख्न थालेको उनी बताउँछन् ।नेपालमा हास्य कलाकारिता गरेर अहिले जीवनयापन गर्न सकिने विश्वास रहेको उनले बताए । एकातिर एमबिबिएसमा प्रवेश पाउन परीक्षाको तयारी गरिरहेको र कलाकारिताको अभ्यास पनि गरिरहेको बताउँदै यादवले भने, ‘अहिले कलाकारिताको क्षेत्रमा काम पाउने सम्भावना पर्याप्त छ ।
रौतहटमा बोलिने बज्जिका भाषाको लवजमा नेपालीमा हास्यव्यंग्य प्रस्तुत गर्दा हाउभाउ पनि आफ्नै शैलीको हुने कलाकार यादवप्रति सर्वसाधारणको आकर्षण पनि बढेको छ । कहिलेकाहीँ यादव देहाती शैलीमा प्रस्तुत भएर दर्शकको मन तान्ने गरेका छन् ।
कलाकार यादवले टेलिभिजनमा मञ्च पाएपछि जिल्लामा सम्मान बढेको छ ।
पहिलेदेखि कलाकारिता क्षेत्रमा आफ्नो नाम स्थापित गरेका कलाकारले पनि नवोदित कलाकार यादवको प्रशंसा गरिरहेका छन् । हास्य कलाकारिताको क्षेत्रले आफ्नो मान बढाएकोमा यस क्षेत्रलाई आफूले कहिल्यै नछोड्ने यादव बताउँछन् । उनले भने, ‘कलाकारिता अब मेरो जीवनको अंग बनिसकेको छ ।’























