नेपालका पहिलाे केमिकल इन्जिनयर राजदास श्रेष्ठकाे अकल्पनीय निधन


काठमाडाैं, चैत १६ । नेपालकाे पहिलाे केमिकल इन्जिनियर राजदास श्रेष्ठकाे ७६ बर्षकाे उमेरमा अकल्पनीय निधन भएको छ ।
मातृभाषा सेवी चर्चित साहित्यकारसमेत रहेका राजदास श्रेष्ठ आज भन्दा एक हप्ता अगाडिदेखि शंखरापुर नगरपालिकाको सुष्मा कोइराला मेमोरियल अस्पतालमा औषधोपचार जारी रहेकोमा हिजो बिहीबार निधन भएको हो । पारिवारिक स्रोतका अनुसार गत चैत्र ७ गते बिहान विष सेवन गरेपश्चात अशक्त भएका श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना पश्चात अचेत भएर बेहोस अवस्थामा उहाँको निधन भएको हो ।
उहाँसित नजिकको भाषिक कार्यकर्ताहरुका अनुसार बितेको केही हप्ता अगाडि आफूलाई आर्थिक समस्या भएको कुरा सुनाएको थियो । तसर्थ उहाँले आफ्नो जग्गा बेच्नको लागि प्रयास गरेका थिए । अहिलेसम्म के कारणले विष सेवन गरेको सो पत्ता लगाउन सकेको छैन । प्रहरीले उहाँ बस्ने घरमा छानबिन पश्चात सुसाइड नोट पनि भेटाइएको जानकारी दिएपनि प्रहरीले त्यसको विवरण भने सार्वजनिक गरेको छैन ।
आज भन्दा करिब २ बर्ष अगाडि संखारापुर नगरपालिकाको घर छोडेर उहाँ चौकी भञ्ज्याङमा एकान्त र रमणीय घरमा बस्दै आइरहनु भएको थियो । स्वीमिङ पुलसमेत भएको तथा चारै तिरबाट खेतिपाती गरिहेको सो घरमा नेपालभाषाका साहित्यकारहरुलाई बेलाबखतमा बोलाउने तथा सोही घरमा यस बर्ष महाकवि गिरिजाप्रसाद जोशीको ८६ औं जन्मोउत्सवको आयोजना गर्ने कार्यक्रम राखेको थियो । उहाँ महाकवि जोशीसित नजिकका साहित्यिक अनुरागी हुन् ।
दिवंगत श्रेष्ठको भौतिक शरीरलाई टिचिङ अस्पतालमा पोष्टर्माटम पश्चात पशुपतिमा अन्तिम संस्कार गरिएकाे छ । दिवंगत श्रेष्ठका जेठा छाेरा अलेकजेण्डर (शाशा)श्रेष्ठ र डेनीश श्रेष्ठ रहेको छन् । दिवंगत राजदास श्रेष्ठ भ्यालेन्टीना श्रेष्ठ निर्मला श्रेष्ठसँग वैवाहिक जीवनमा बाधिएका थिए ।
केही महिना अगाडि दिवंगत श्रेष्ठलाई यस बर्षको ‘प्रेममोहन सिरपाः’ पुरस्कार प्रदान गरिएको थियो ।























