दुर्घटना

चितवनको रामनगरमा चेकिङका लागि रोकेको बसमा माइक्रो ठोक्किँदा ८ जना घाइते, चारको अवस्था गम्भिर

नवलपुर टुडे
२०८० चैत्र १५ | बिहान ०७:१२ बजे

चितवन, चैत १५ । चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा चेकिङका लागि रोकिराखेको बसमा माइक्रो बस ठोक्किएको छ ।

आज बिहान ५ बजेको समयमा झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८८८ नम्बरको यात्रुबाहक बस रामनगरस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अगाडि चेकिङका लागि रोकेको थियो ।

चेकिङका लागि राेकिएको उक्त बस पछाडि काठमाडौँ जाँदै गरेको ग २ ख २२५ नम्बरको माइक्रो बस अनियन्त्रित भई ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । बसमा ठोक्किएर नजिकैको मोटरसाइकल ग्यारेजमा समेत ठक्कर दिँदा माइक्रोमा सवार ८ जना घाइते भएका छन् । जसमध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रवक्ता भण्डारीले बताए ।

घाइते हुनेहरुमा भरतपुर–११ बस्ने बर्ष ४४ की मिना सापकोटा (टाउकोमा गम्भिर चोट), भरतपुर–५ बस्ने बर्ष ४० को केशर साह (टाउकोमा गम्भिर चोट), भरतपुर–२१ बस्ने बर्ष ४४ को मेकना तामाङ (सामान्य), भरतपुर–१४ बस्ने बर्ष ५३ को हरिराम ढकाल (सामान्य), ५१ वर्षीय धनुमाँया ढकाल (टाउकोमा गम्भिर चोट), भरतपुर–२ बस्ने बर्ष ३० को काशी उपरकोटी (टाउकोमा गम्भिर चोट), भरतपुर–२० बस्ने बर्ष ४७ को तुल बहादुर घले (सामान्य) र गोर्खा सिरान्चोक गाउँपालिका–१ बस्ने बर्ष २६ की प्रिती रम्तेल (मध्यम घाइते) रहेका छन् ।

घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए । माइक्रो र माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु