आज तराईका २१ जिल्लामा हर्षोल्लासका साथ होली मनाइँदै


वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदैछ । होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा बिदा दिएको छ भने प्रहरीले होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन अनुरोध पनि गरेको छ । तराईका बासिन्दाको बसोबास रहेका काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ ।


















