धर्म–संस्कृति/रीतिथिति

तराई–मधेशमा आज होली मनाइँदै

नवलपुर टुडे
२०८० चैत्र १२ | बिहान ०६:१२ बजे

काठमाडौं, चैत १२ । तराई–मधेश क्षेत्रमा आज फागु पुर्णिमा (होली) हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली र पहाडी भेगमा पूर्णिमाका दिन ‘फागु’ काे रुपमा मनाइने यो पर्व मधेशमा पूर्णिमाको भोलिपल्ट मनाउने चलन छ ।

मधेशमा होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो । सबै प्रकारका भेदभावलाई भष्म गरी सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ ।

यस पर्वले असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको मान्यता छ । वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।

यस्तै पुराणका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा होली मनाइन्छ ।​ यसैगरी द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलाएको पनि बताइन्छ ।

होलीको अवसरमा सरकारले तराई–मधेशका जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।

कमेन्टहरु