दुर्घटना

नवलपुरको कोटथर गरगरेमा अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

नवलपुर टुडे
२०८० चैत्र ७ | मध्यान्ह ०५:१२ बजे

नवलपुर, चैत ७ । नवलपुरको मध्यविन्दु नगरपालिका – ११ कोटथर गरगरेस्थित भित्री सडक खण्डमा अटो अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

दमारबाट अरुणखोलातर्फ आँउदै गरेको ग.प्र.०४-००१ ह ००४ नम्बरको अटो चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

दुर्घटनामा मध्यबिन्दु न.पा. १२ बस्ने अन्दाजी ६५/७० वर्षीय भुपलाल अर्याल, सोही ठाउँका ७० वर्षीय तोयनाथ पोख्रेल र मध्यबिन्दु न.पा. १० बस्ने ७६ वर्षीया टिका देवी काफ्ले घाइते भएका थिए । घाइते भएका उनीहरूलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार पश्चात थप उपचारको लागी भरतपुर रिफर गरिएको थियो ।

भुपलाल अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा दिउँसो पौने ४ बजेतिर मृत्यु भएको हो । अन्य दुई जना घाइते तोयानाथ पोख्रेल र टिका देवीको पुरानो मेडिकल कलेज चितवनमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अटो र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु