समाचार

हुन्डीका अभियुक्तहरुलाई छुटाउन राज साह प्रयासरत्त, पर्सा प्रहरी प्रशासनको नाममा ३५ लाख असुली

रंजित चौरसिया
२०८० चैत्र ७ | बिहान १०:१२ बजे

वीरगंज, चैत ७ । पर्सामा नयाँ प्रहरी प्रमुखको आगमन भए पश्चात तस्करी लगायतका हुन्डी कारोबार बन्द भए पछि तस्कर लगायत हुन्डी माफियाहरुको योजना असफल हुदै गएको छ ।

भारत रक्सौलको अमरिस, सन्नी महतो, बब्लु राज, सोनु सर्राफ, गान्धी गुप्ता कलवार, अनुराग लगायतको हुन्डी साहुहरुको रकम पर्सा प्रहरीको लाईन नमिलेपछि लुकाईछिपाई हुन्डी कारोबार गरिरहेका वीरगंज महानगरपालिका–१० का ३२ वर्षीय कुनाल जयसवाल, वडा नम्बर २२ का ३९ वर्षीय वीरेन्द्र साह तेली, २० वर्षीया रेखा कुमारी साह र पर्साको जगरनाथपुर गाउँपालिका–६ का २५ वर्षीय मितु कुमार कुर्मी र धनुषा जिल्लाका रामबाबु साह कलवार लगायतकालाई प्रहरी हिरासतमा राखी पर्सा प्रहरीले बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान गरिरहेको छ ।

वीरगंजमा हुन्डी कारोबारीहरुको तीन वटा समुह रहेको छ । मारवाडी समुहका नाईके सौरभ जैन, सोनार समुहका नाईके गोपाल सोनार र अन्य समुहका नाईके राज साह तेली रहेको जनाईएको छ । अन्य समुहबाट पक्राउ परेका जयसवाल, तेली, साह, कुर्मी र कलवारलाई छुटाउन राज साह तेलीले भरमग्दुर प्रयासरत्त रहेका छन् ।

नेपालको अर्थतन्त्र तहसनहस पार्ने धमिराको रुपमा परिचय बनाएका हुण्डीमा संलग्न राज साह तेलीले बिगतको दिनमा पर्सा प्रहरी प्रशासनको नाममा मासिक २२ लाख रुपैया उठाउदै आएको स्रोतको कथन रहेको छ । राजले बिगतको दिनमा हुन्डी भरियाहरु पक्राउ परेपछि प्रहरी प्रशासन कहाँ जाने र मिलोमतो रहेका बैंकहरुबाट स्टेटमेन्ट पेश गरी छोडाउने काम गर्दै आएका थिए । कुनै बेला प्रहरीलाई पनि छोडन नमिल्ने भए पछि जिल्ला सरकारी वकिलको कार्यालय देखि लिएर अदालतसम्म सेटिङ्ग मिलाउने काम सम्मानित जिल्ला अदालत पर्सामा कार्यरत्त रहेका कर्मचारी बृजमोहन चौरसियालाई दिने गर्ने गरेको स्रोतको भनाई रहेको छ ।

यसमा पनि हुन्डीमा समातिएका अभियुक्तहरुलाई पर्सा प्रहरीले नछोडे पछि सरकारी वकिलको कार्यालय देखि लिएर अदालतसम्म सेटिङ्ग मिलाउने जिम्मेवारी हुन्डी माफिया राज साह तेलीले बृजमोहन चौरसियालाई नै जिम्मा दिएको स्रोतको दाबी रहेको छ ।

चौरसिया सम्मानित अदालत पर्सामा वर्षौ देखि अड्डा जमाएर बस्दै आएका छन् । हुन्डी माफियाको नामले चर्चा कमाएका राज साह तेली र तत्कालिन पर्साका एसपी र हालका एसएसपी बेल बहादुर पाण्डे बीचको हुन्डी कारोबार सम्बन्धी अडियो रेकर्ड विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको थियो ।

वर्तमान एसपी कुमोध ढुङ्गेललाई जसरी पनि मिलाएरै नै छाडने शर्तमा बारा जिल्लाको प्रसौनी निवासी हुन्डी कारोबारी शिक्षकसमेत रहेका सुभाष साह तेली मार्फत भारतीय हुन्डी साहुहरु सँग राजले पर्सा प्रहरी प्रशासनको नाममा होली पर्व आएकोले करिब ३५ लाख रुपैया लिएको स्रोतको कथन रहेको छ ।

पर्सा प्रहरी प्रशासनको नाम बेंच्दै आफ्नो झोली भर्दै आएका सुभाष साह, राज साह तेली लगायत माथि छानबिन गरी कानुनी प्रक्रिया अघि नबढदा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् ।

कमेन्टहरु