कथाकार परशु प्रधानको निधन

काठमाडौं, चैत ६। कथाकार परशु प्रधानको निधन भएको छ । ८० वर्षको उमेरमा गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो । परशु प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् ।
निधन भएका प्रधानको अहिले बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । उनको जन्म वि.सं २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए अध्ययन गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए ।
प्रधानको पहिलो रचना २०१६ मा विराटनगरबाट प्रकाशित हुने छहारी मा “हाँसेकी ती चन्द्रमा” शीर्षकमा प्रकाशित भएको थियो । उनले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए । २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् ।
२०३१ मा रत्नश्री स्वर्ण पदक पाएका प्रधानको बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह हुन् ।























