बागलुङ निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २६ जना घाइते


बुटवल, चैत ६ । बागलुङको निसीखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेमा संख्या ९ पुगेको छ । दुर्घटनामा परी ५ जना पुरुष र ४ जना महिलाको मृत्यु भएको हो ।
७ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिए । मृतक ९ जनामध्ये २ जनाको मात्रै सनाखत भएको छ । रुकुम पश्चिम घर भएका बस चालक सुवास गौतम र बस धनी बवि नेपालीको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये २१ जनाको धौलागिरी अस्पताल बागलुङमा र ५ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ ।
रुकुम पश्चिमबाट काठमाण्डौका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस हिजो बेलुका बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको थियो । बस सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो ।























