अपराध, लुम्बिनी प्रदेश

नवलपरासीको मर्चहवामा भएको हजुरबुवा र नातीको हत्यामा संलग्न दुई जना पक्राउ

नवलपुर टुडे
२०८० चैत्र ४ | मध्यान्ह ०७:१२ बजे

नवलपरासी, चैत ४ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवामा भएको हजुरबुवा र नातीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियार प्रहार गरी अक्षयलाल चमार र उनका नाति गौचरण चमारको हत्या गरिएको अभियोगमा प्रहरीले ३ गते शनिबार सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवा बस्ने वर्ष २९ को अजय धरिकार र वर्ष २० को चन्दन हरिजनलाई पक्राउ गरेको हो ।

गत फागुन १ गते अक्षयलालको घर अगाडी उनी र १० मिटर पश्चिममा उनका नाति गौचरणको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनाको जानकारी पश्चात् जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी उपरीक्षक काजी कुमार आचार्यको कमाण्डमा खटिएको टोलीले घटनास्थलमा बाया हातमा लगाउने हाफ पन्जा फेला पारेका थिए । घटनास्थलमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरी अनुसन्धान गरिएको थियो ।

घटना घटेको ३ दिन पश्चात सिआईबीको प्रहरी टोली समेत संलग्न भई अनुसन्धान गर्ने क्रममा घटनामा मर्चहवाका अजय धरिकार र चन्दन हरिजनको संलग्नता रहेको खुल्न आएकोले उनीहरुलाई शनिबार पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलाटारीमार्फत सम्मानित जिल्ला अदालत परासीबाट ज्यान सम्बन्धि कसुर मुद्दामा दिन ७ म्याद थप गरी अनुसन्धान भईरहेको नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

गत माघ २६ गते प्रतिवादी मध्येका चन्दन हरिजन र सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवा बस्ने छिमेकी गाउँले सँग भएको झगडा उपर ई.प्र.का. बेलाटारीमा उजुरी परी त्यसको दुईदिनपछि २८ गते छलफल पश्चात मिलापत्र भएको थियो । सो झगडाको रिसईबी साँध्न चन्दन हरिजनले उनका मिल्ने साथी अजय कुमार धरिकारसँग मिली निवेदक विपक्षीसंग बदला लिने योजना बनाई सोहि दिन २८ गते भारततर्फको त्रिवेणि मेलामा गई भारु ३०० मा धारिलो हतियार चक्कु किनि ल्याएका थिए ।

त्यसको भोलिपल्ट माघ २९ गते बेलुकी अक्षय लाल चमारको घरसँगैको बालुवा गिट्टी स्टक (थुप्रो) मा गई बिपक्षीलाई कुरी बसेका थिए । उक्त व्यक्ति फेला नपरेपछि नजिकै घर रहेको अक्षय लाल चमारको हत्या गरेमा घर नजिक बालुवाको थुप्रो स्वयं विपक्षीको भएकाले निज उपर शंका भई प्रहरी अनुसन्धान हुनसक्ने र सोको आरोपसँगै आफ्नो बदलाको भावना समेत पुरा हुने ठानी घटना घटाउन तयार भएका थिए ।

अक्षयलाल चमारको हत्या गरेपश्चात सँगै सुतेको नाती गौचरण चमारले देखेपछि आफूहरुलाई चिन्ने डरले नाति गौचरणमाथि समेत हतियार प्रहार गरी हत्या गरेका थिए । घटनाको समयमा प्रतिवादी चन्दन हरिजनले लगाएको कालो हाफ पन्जा मध्ये बायाँ पन्जा घटनास्थलमै छोडेका थिए । घटनास्थलमा छोडेको सोही पन्जाको आधारमा प्रहरीले सुक्ष्म अनुसन्धान गर्दै जाँदा घटनाको वास्तविकता खुल्न आएको र प्रयोग भएको चक्कु समेत अजय धरिकारको सुत्ने कोठा रहेको टिनको बाकसभित्र लुकाईराखेको अवस्थामा फेला परेको थियो ।

घटनामा प्रयोग भएको पञ्जा साथिमार्फत चन्दन हरिजनले २९ गते नै कुडिया बजारको फेन्सि पसलबाट खरिद गरि मगाएका थिए ।

कमेन्टहरु