जलवीरेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा एक विरामीको मृत्यु, चार जना घाइते


चितवन, चैत ४ । नारायणगढ–मुग्लिन सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ जलवीरेमा रोकिराखेको ट्रकमा यात्रुबहाक बस ठोक्किँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् ।
आज बिहान २ः४० बजेको समयमा रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२४ नम्बरको बस टायर पञ्चट भई रोकी राखेको ना ६ ख ३५८० नम्बरको ट्रकमा ठोक्किँदा एक जना विरामी यात्रुको मृत्यु र चार जना घाइते भएका हुन् ।
मृत्यु हुनेमा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दास रहेको र घाइते हुनेमा ट्रक चालक पर्सा विरगन्ज महानगरपालिका–२३ बस्ने ३३ वर्षको हाकिम मिया (खुट्टामा मध्यम चोट), बसमा सवार सर्लाही बरहथवा नगरपालिका मिलनचोक बस्ने बर्ष २५ की पुजा गुप्ता (मुखमा मध्यम चोट), भारत सितामढि जिल्ला रमनगरा बस्ने बर्ष ३२ को अम्बर नाथ कुमार (टाउकोमा मध्यम चोट) र भारत विहार राज्य मजापुर जिल्ला बस्ने बर्ष ३९ कि रिता गुप्ता (सामान्य) रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस चालक नवलपुरको कावासोती नगरपालिका–१४ बस्ने बर्ष ३९ को लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।























