माघ २२ गतेदेखि हराइरहेकी किशोरीको शव शिवपुरी जंगलमा गाडिएको अवस्थामा फेला


काठमाडौं, फागुन ३० । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा एक जना किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार फागुन २४ गते बिहीबार राति पौने ७ बजे स्थानीयले दुई वटा हात मात्रै देखिएको र शरीर गाडिएको शव फेला परेको भनी प्रहरीलाई खबर गरेका थिए । त्यस राति प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले घटनास्थललाई सुरक्षित राखी फागुन २५ गते शुक्रबार बिहान ८ बजे परिसर र प्रहरी वृत्त बौद्धबाट अनुसन्धान अधिकृत सहितको टोली खटिएको थियो । विशेषज्ञ तथा फरेन्सिक डाक्टर सहितको टोली पनि खटिएको थियो ।
गाडिएको शव निकालेर हेर्दा मृतक गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ बस्ने १८ वर्षीया सुष्मा लामा रहेको खुलेको थियो । उनी गत माघ २२ गते बिहान ५ बजेदेखि हराएकी थिइन् । उनी हराएको भन्दै आफन्तले खोजीकार्यका लागि माघ २५ गते प्रहरी वृत्त बौद्धमा निवेदन दिएका थिए ।
त्यसपछि उनको हुलिया परिपत्र, टेलिफोन, कल-डिटेलका आधारमा सम्भावित स्थानहरूमा खोजी गरिरहेको बेला शव फेला परेको एसपी अधिकारीले बताए । शव फेला परेपछि आमा लुच्ची तामाङलाई घटनास्थलमा लगेर सनाखत गरिएको थियो । शव टिचिङ अस्पतालमा पोष्टमर्टम भइसकेको छ ।
प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजीकार्य गरिरहेको जनाएको छ ।























