होटलमा बेहोस भेटिएकी युवतीको उपचार क्रममा मृत्यु, सँगै बसेका युवक फरार


जनकपुरधाम, फागुन २९ । जनकपुरधामको रामानन्द चोकस्थित सिटी स्टार फैमली होटेलमा बेहोस अवस्थामा भेटिएकी युवतीको मृत्यु भएको छ । पोखराको मियाँ टोल बस्ने २७ वर्षीया खुसबु सुनारको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
डीएसपी अवाका अनुसार होटलमा बिहान ८ः१५ बजे उनी अचेत अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा ८:३० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो ।
मृतक सुनार सोमबार बेलुकी एक युवकसँग होटलमा आएकी थिइन् । उनीसँगै बसेका युवकको पहिचान खुल्न नसकेको र थप अनुसन्धान भइरहेको डिएसपी अवाले बताए । स्रोतका अनुसार युवतीसँग बसेका युवकसँगै थप दुई युवक पनि पुगेका थिए ।
मृतक सुनार करिब तीन महिनादेखि धनुषाको महेन्द्रनगरमा बस्दै आएकी थिइन् । घटनापछि उनको श्रीमानसहित परिवारका सदस्यलाई खबर गरिएको प्रहरीले जनाएको छ ।























