धर्म–संस्कृति/रीतिथिति

ग्याल्बो ल्होसारले आपसी सद्‍भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने छ : प्रधानमन्त्री

नवलपुर टुडे
२०८० फाल्गुन २८ | बिहान ०७:११ बजे

काठमाडौँ, फागुन २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालीहरूको राष्ट्रिय पर्व “ग्याल्बो ल्होसार” को अवसरमा स्वदेश तथा विदेशमा रहेका शेर्पा समुदाय लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै एक-अर्काको संस्कार र संस्कृतिको सम्मानसहित आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु हाम्रो राष्ट्रिय कार्यभार रहेको बताएका छन् ।

पूर्वी हिमाली क्षेत्र लगायत देशका विभिन्न भू-भागमा बसोबास गर्ने शेर्पा समुदाय लगायतले नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व रहेको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

शेर्पा समुदायको मौलिक परम्परा अनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाउने यस पर्वमा मान्यजनहरूबाट आशिर्वाद ग्रहण गर्नुका साथै परिवार र आफन्तजनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने प्रचलन छ ।

प्रधानमन्त्रीले ग्याल्बो ल्होसारले आन्तरिक राष्ट्रियता, आपसी सद्‍भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

photo 2024 03 11 07 10 21

कमेन्टहरु