तस्कर, लुम्बिनी प्रदेश

नवलपरासीको विभिन्न स्थानबाट २५ लाख ७६ हजार बराबरको मोबाईलको टेम्पर ग्लास र चिनी बरामद

नवलपुर टुडे
२०८० फाल्गुन २३ | मध्यान्ह ०८:११ बजे

नवलपरासी, फागुन २३ । नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ४ बर्दघाट बजारमा रहेको एम.एस. स्क्रप (कवाड खाना) बाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी मूल्य रू.१९ लाख ८० हजार बराबरको ३० कार्टुन मोबाईलमा प्रयोग गरिने टेम्पर ग्लास प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले आज (बुधबार) अन्दाजी ७ बजेको समयमा उक्त सामान बरामद गरी नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको र थप अनुसन्धान कार्य भइरहेको नवलपरासीका सूचना अधिकारी एवम प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

यस्तै जिप्रका नवलपरासी तथा राजश्व अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले आज दिउँसो करिब ३ बजेतिर पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ गेर्मास्थित राइस मिलबाट भन्सार छलि ल्याइएको १४९ बोरा चिनी बरामद गरेको छ ।

गेर्माका भगतपुरा बस्ने सोमै गौँडले संचालन गरेको गुल्सन नितलेश राईस मिल उद्योगको गोदाम घरमा शंकास्पद रुपमा चिनीको बोराहरु स्टक गरी राखेको छ भन्ने सूचनाको खटिएको टोलीले अन्दाजी मूल्य रू. ५ लाख ९६ हजार बराबरको १४९ बोरा अवैध चिनी बरामद गरी नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिइएका चिनी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु