नवलपरासीबाट सशस्त्र प्रहरीद्वारा ३५ लाख बराबरको अवैध चिनी र केराउ बरामद


नवलपरासी, फागुन २२ । सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याई गोदाममा लुकाइराखेको अवस्थामा ३५ लाख बराबरको चिनी र केराउ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्वा. नवलपरासीको टोलीले सुस्ता गाउँपालिका वडा-१ बरुवाबाट गएराति उक्त परिमाणको सामान बरामद गरेको गणका प्रमुख एसपी प्रकाश वाग्लेले जानकारी दिए । बरामद गरिएका सामग्रीमा ४० क्विन्टल चिनी र ३८० क्विन्टल हरियो केराउ रहेका छन् ।
सुस्ता र प्रतापपुर गाउँपालिकाका सीमा नाकाबाट केही दिनदेखि जीप, मोटरसाइकल र साइकलबाट सामानहरु ओसारपसार गरी गोदाममा राखेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले स्थानीय श्याम भनिने ज्ञानप्रसाद अर्यालको घर पछाडी रहेको गोदामबाट २५ केजी दरका १५७ बोरा चिनी र ३० र ५० केजीका १२५० बोरा केराउ बरामद गरेको एसपी वाग्लेले बताए ।
उनका अनुसार बरामद गरिएको अवैध सामान कसको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । गोदाम रहेको जग्गा भने ज्ञानप्रसादले भाडामा दिएको भन्ने बुझिएका छ ।
बरामद भएको सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार पठाइएको छ । सशस्त्र प्रहरीले बरामद गरेर पठाएको चिनी र केराउको अन्दाजी मूल्य ३५ लाख बराबरको रहेको भन्सार प्रमुख बुद्धिबहादुर चुँडालले बताए ।























