तीन पुस्तापछि जग्गाको मालिक बन्न पाएको खुसी


लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा)का लागि वितरण गरिएको निस्सापत्र प्राप्त गरेपछि लक्ष्मीको मुहारमा खुसी छचल्किएको हो ।
‘यही पाउनका लागि धेरै वर्षको प्रतिक्षा थियो। पुस्तौंपुस्ता बिताउनुपर्यो,’ हातमा निस्सापत्र देखाउँदै लक्ष्मीले भनिन्, ‘धेरै खुसी लागेको छ । हामीले दुःखजिलो गरी गुजरा चलाउने जमिनको मालिक आफैँ हुन पाइनेभयो । यो पत्र (निस्सापत्र) लगेर घरमा श्रीमान्लाई देखाउँछु, उहाँ पनि खुसी हुनुहुन्छ ।’
लक्ष्मी जस्तै सोही वडाका रामप्रसाद महतो पनि खुसी थिए ।
‘भूमिको नाममा कहीँकतै केही नभएको म यो निस्सा पाउँदा अब जग्गा नै पाउँछु भन्ने विश्वास लागेको छ,’ महतोले भने, ‘निस्सा नभई रातो लालपुर्जा नै पाएजस्तो महसुस गरेको छु, अब सरकारले जग्गा दिनेमा विश्वस्त छु ।’
लक्ष्मी र महतोजस्तै वडा नं १६ का तीन सय ७६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थितरूपमा बसोबास गर्दै आएका परिवारले सोमबार एक समारोहबीच निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी देखिएका छन् ।
उनले भने, ‘वषौँदेखि जोतभोग गरेका तर आफ्नो नाममा जग्गा नभएका यहाँका भूमिहीनलाई जग्गा दिलाउन हामीले विभिन्न वडामा पहिलो चरणको प्रक्रिया सुरु गरिसकेका छौं । निस्सा वितरणका आधारमा नै जग्गाको नापजाँचको कामलगायतका प्रक्रिया अगाडि बढाइने छ। सम्पूर्ण प्रक्रिया पूरा गरी एक महिनाभित्रै जग्गाधनी पुर्जा वितरण गर्नका लागि राष्ट्रिय भूमि आयोगका प्रतिनिधिलाई अनुरोध गर्दछु ।’
नगरपालिकाले गत माघ २८ गते वडा नं १५ का सात सय ७६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सापत्र वितरण गरेको थियो ।
कुनै पनि नेपाली नागरिक जग्गाविहीन हुन नपरोस् भनी आयोगले काम गरिरहेको राष्ट्रिय भूमि आयोग सिराहाका अध्यक्ष रामअधिन यादवले बताए । उनका अनुसार १० वर्षसम्म एउटै जमिन जोतभोग गर्ने नागरिकलाई डेढ बिघासम्म उक्त जमिनको लालपुर्जा पाउने अधिकार हुनेछ । यादवका अनुसार सिरहा जिल्लामा अहिलेसम्म आठ हजार सुकुम्बासी र तीन हजार आठ सय अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि आ–आफ्नो बसोबास रहेको पालिकामा निवेदन दिएका छन् ।























