विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवासअघि धर्ना बस्ने


गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेपछि विपक्षी सांसदहरू प्रदेश प्रमुखको निवासमा पुगेका छन् । उनीहरूले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन दबाब दिन प्रदेश प्रमुख निवासअघि धर्ना बस्ने बताएका छन् । शुक्रबार मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेलले दाबी पेस गरेका थिए ।
प्रदेश प्रमुखसमक्ष सशरीर उपस्थित भएर विपक्षी गठबन्धनका सांसदहरूले कृष्णचन्द्रलाई मुख्यमन्त्री प्रस्ताव गरेका थिए । तर, प्रदेश प्रमुख सीता पौडेलले समय रहेकाले भोलि खबर गर्ने भन्दै विपक्षी गठबन्धनका सांसदहरूलाई फर्काइदिएकी थिइन् ।
यसबीचमा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जसपा (ठाकुर-महतो पक्ष)को प्रदेश कमिटीको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा गुरुङले पनि दाबी गरेका छन् । यहाँ जसपाका दुवै सांसद बाबुराम भट्टराई लाइनका हुन् । तर, जसपाको प्रदेश कमिटीको पत्रको आधारमा उनले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।























