प्रदेश प्रमुख पौडेललाई आफ्नै निवासमा भेटेर फर्किए कृष्ण थापा

पोखरा । गण्डकी प्रदेशसभा सदस्यबाट बर्खास्त राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले प्रदेश प्रमुख सीताकुमारी पौडेलसित भेट गरेका छन् । थापा प्रदेश प्रमुख पौडेललाई भेट्न शनिबार उनको पोखरास्थित निवास पुगेका हुन् ।
थापाले आफ्नो कारबाहीबारे प्रदेश प्रमुखलाई जानकारी गराएको जनाएका छन् । उनीसँगै मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे पनि प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिएका छन् । गण्डकीमा नयाँ सरकार गठनको रस्साकस्सीबीच थापा प्रदेश प्रमुखलाई भेट्न पुगेका हुन् ।
उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यसअघि पनि गएको बिहीबार थापालाई पदमुक्त गरिएको थियो । तर, त्यसविरुद्ध सर्वोच्च पुगेका थापालाई सर्वोच्चले अन्तरिम आदेशसहित आइतबार पुनर्बहाली गरेको थियो ।
थापाले आफू राष्ट्रिय जनमोर्चाको गण्डकी संसदीय दलको नेता रहेको दाबी गर्दै आएका छन् । जनमोर्चाको सिफारिसमा गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले शुक्रबार उनी दोस्रोपटक पदमुक्त भएको जानकारी सदनलाई गराएका थिए ।
बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिँदा थापा तटस्थ बसेका थिए । संसदीय दलको ह्वीप उल्लंघन गरेपछि उनी शुक्रबार फेरि पदमुक्त भएका थिए ।























