देश

एमालेकै सांसदले दिए प्रधानमन्त्रीलाई झन् खतरनाक अभिव्यक्ती, अब के गर्लान ?

नवलपुर टुडे
२०७८ जेष्ठ २९ | मध्यान्ह ०१:०२ बजे

काठमाडौ । मुलुकको हित र अस्मितामाथि गम्भीर खेलबाड गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन आफै नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएर नेपाली कांग्रेस, बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य तीव्ररुपमा आलोचित भइरहेका बेला नेकपा एमाले विद्रोही पक्षका नेता मेटमणि चौधरी उनको अभिव्यक्तिको पक्षमा बलियो गरी उभिएका छन्।

गलत अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न वैद्यलाई उनकै पार्टीले निर्देशन दिइसकेको र उनलाई आफ्ना अभिव्यक्तिमा संयम र सजगकता राख्न सचेत समेत गराइसकेको अवस्थामा एमाले माधवकुमार नेपाल पक्षका नेता चौधरीले वैद्यको अभिव्यक्ति शत प्रतिशत ठिक भएको बताएका छन्। उनले शनिबार देशसञ्चारसँग भने, ‘नेता वैद्यको अभिव्यक्तिको म समर्थन गर्छु। उहाँले बोलेको कुरा प्रत्येक नेपाली जनताको मनोविज्ञान बनेको छ। केपी ओली अब सच्चिएनन् भने एउटा, दुइटा मात्रै होइन सयौँ नाथुराम गोडसे जन्मिन सक्छन्।’

उनले थप भने, ‘आक्रोश त्यस्तै छ। दुईदुई पटक प्रतिनिधिसभा भंग गर्ने। प्रणाली खारेज गर्न लागेको लाग्यै छन्। संविधान के हो, मतलब छैन। अध्यादेशमार्फत देश चलाउन खोज्दै छन्। मुलुकमा फेरि एक पटक तानाशाह बन्ने सपना ओलीले बोकेका छन्। आफूले लाखौँ गल्ती गर्दा पनि माफी माग्न तयार हुन्नन्। यसबारे धेरै सोचे पछि न अभिव्यक्तिका रुपमा बाहिर आएको हो। वैद्यले बोलेको कुरा एकदमै ठिक छ।’

चौधरीले अब वैद्यको अभिव्यक्तिलाई मध्यनजर गरेर शासकहरुले आफूहरुलाई अनुशासित बनाउनु पर्ने बताए। उनले भने, ‘शासकले आफ्नो आनीबानीमा परिवर्तन ल्याउनु पर्‍यो, अनि मात्रै नाथुराम जन्मिनुपर्छ भन्ने भनाइहरु कमजोर हुन्छ। तर यहाँ आफू सच्चिनु नपर्ने, अरु मात्रै सच्चिनु पर्‍यो भनेर मात्रै हुन्छरु’

जनप्रतिनिधिले कसैको हत्याको वकालत गर्न मिल्छ तरु भन्ने प्रश्नको जवाफमा चौधरीले भने,‘ यस्तो अभिव्यक्ति दिने कुरा संसदीय मर्यादाभित्र नपरेको देखिरहेका छन् मानिसहरुले। तर अत्याचार नै भएपछि एउटा सांसदको जिम्मेबारीमा जनताको आवाज उठाउनु पनि पर्छ। उहाँले ओलीलाई मार्छु भन्नु भएको होइन। उहाँले त नेपाली समाजको मनोवैज्ञानिकबारे ‘ब्रिफिङ’ गरेको मात्रै हो।’ उनले वैद्यको अभिव्यक्ति शासकले आफूलाई सुधार्नुको विकल्प नभएकोमा लक्षित भएको बताए।

चौधरीले चौतर्फी दबाबमा परेर वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिए पनि उनले बोलेको कुरालाई आफूले समर्थन गर्ने बताए।बिहीबार प्रदेशसभा बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै भनेका थिए, ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्। त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्‍यो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु।’

नाथुराम गोड्सेले महात्मा गान्धीको गोली हानी ‘हत्या’ गरेका थिए। यद्यपि गोडसेले आफूले महात्मा गान्धीको हत्या गरेको नभई मुलुकको वृहत्तर हितका लागि ‘बध’ गरेको दाबी गरेकका थिए। वैद्यले फौजदारी कानुन आकर्षित हुने अभिव्यक्ति दिएको भन्दै ओली नेतृत्वको नेकपा एमालेले विज्ञप्ति निकालेको छ। वैद्यले भने प्रदेशसभा बैठकबाटै आफ्नो अभिव्यक्ति फिर्ता लिँदै संसदबाट हटाउन सभामुखलाई आग्रह गरेका छन्। आफूले अभिव्यक्ति स्वतन्त्रताको बढी नै प्रयोग गरेको बताउँदै उनले आत्मालोचना गरेका छन्।

कमेन्टहरु