धर्म–संस्कृति/रीतिथिति, मनोरन्जन
मौलिक भाकाको संरक्षणमा सक्रिय लालबहादुर


काठमाडौं । उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन मौलिक भाका र पुर्ख्याैली संस्कृतिको संरक्षणमा सक्रिय छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका- १ दोबा घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका पुन लोप हुने अवस्थामा पुगेका मौलिक गीत र नाचको संरक्षणमा लागेका छन्।
नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि सामाजिक सेवामा लागेका उनी पछिल्लो समय सिरफुले, यानिमया, सालैजो, ठाडो, खेली, साइलोलगायतका पुराना र मौलिक भाकाहरूको संरक्षणमा जुटेका हुन्। उमेरले बुढ्यौली लाग्दै गए पनि आफू भने हराएर जाने अवस्थामा रहेका गीत र संस्कृति संरक्षणको अभियानमा जुटेको पुनले बताए।
विसं २०७२ मा मगर समुदायको मौलिक भाकाका रूपमा रहेको पुर्ख्याैली गीतको म्युजिक भिडियो तयार गर्नुभएका पुनले अहिलेसम्म २० वटा परम्परागत र मौलिक भाकामा तयार गरिएका गीतको म्युजिक भिडियो नै तयार गरिसकेका छन्। पुर्ख्याैली गीतको म्युजिक भिडियोमा बुढ्यौली लागेका पुन आफैं मादले बनेर नाच्ने गर्छन्।
गाउँमा मेलाजात्रा, रोधी बस्दा, घाँस दाउरा गर्न जंगल जाँदा, खेतबारीमा काम गर्दा र विवाह, व्रतबन्ध, छेवरलगायतका परम्पराजन्य कार्यक्रममा गुञ्जिने मौलिक भाका हराउन थालेपछि आफू संरक्षणमा जुटेको उनको भनाइ छ।
‘मेरो अधिकांश समय पुराना हराएर जाने अवस्थामा पुगेका भाकामा गीत तयार गर्नमा बित्ने गर्छ, गीत तयार भएपछि आफैँ पनि स्वर भर्ने गर्छु, कतिपय अन्य कलाकारलाई समेत स्वर भर्न लगाउँछु र त्यसलाई छायांकन गरेर म्युजिक भिडियोसहित बाहिर ल्याउने गरेको छु, ‘ सर्जकसमेत रहेका कलाकार पुनले भने।
पुनले तयार गरेकाे पुर्ख्याैली गीत हालै जिल्लाको अन्नपूर्ण- ८ काफलडाँडामा रहेको धार्मिक पर्यटकीयस्थल करबाकेलीमा म्युजिक भिडियो छायांकन गरिएको छ। कलाकार पुनले खेली, चुट्के खेली, साइलो भाका, यानिमयालगायतका विभिन्न छवटा गीतमा आफैं स्वरसमेत दिएका छन्।
गाउँका परम्परागत मौलिक भाकाका गीत सुनिन छाडेपछि पुनले अभियान नै चलाएर पुराना भाकाहरूको संकलन र गीत लेखन सुरु गरेका थिए।
‘गाउँमा बुवाआमाले गाउने भाका कहीँकतै पनि सुन्न पाउने अवस्था छैन, कम्तीमा हामी गीत सुनेकाले यसको संरक्षण गरे भाकाहरू पुस्तान्तरण हुन पाउँछन्। मैले सिर्जना गरेका सबै गीतको लय र ताल पुराना र मौलिक छन्, त्यसैमा मैले शब्द सिर्जना गरेर गीत तयार गर्दै आएको छु, ‘ उनले भने।
गाउँका रैथाने संस्कृति हराएर जान नदिन आफूले ठेट लय नबिग्रने गरी गीत बनाउने गरेको पुनकाे भनाइ छ। पुनका चारवटा सालैजो, पुर्ख्याैली सोरठी भाकामा रेकर्ड भएका गीतलाई म्युजिक भिडियो बनाउने तयारी गरिएको छ।
म्याग्दीका विभिन्न गाउँबस्तीमा गाइने रेलिमै, सेदोलगायतका भाकामा समेत गीत बनाउने पुनले तयारी गरेका छन्। उनले मगरहरूको पुर्ख्याैली गीतिसङ्ग्रह पुस्तकसमेत प्रकाशन गरेका छन्। यस पुस्तकमा पुर्ख्याैली नाचका विभिन्न ५९ गीत समावेश गरिएको छ।























