धर्म–संस्कृति/रीतिथिति, विचार/ब्लग

अर्जुनको शौन्दर्य

नवलपुर टुडे
२०८० फाल्गुन १४ | मध्यान्ह ०५:११ बजे

भोजराज पाण्डेय
नेपाललाई यसै प्राकृतिक शौन्दर्यताले भरिपूर्ण देश भनिएको होइन । नेपालमा रहेको बिबिध खालको भौगोलिक बनावटको कारणले गर्दा पनि यसको शौन्दर्यतामा बल पुर्‍याएको हो । पुर्व मेची देखि पश्चिम महाकालीसम्म र तराई देखि हिमालसम्म कहिँ कतै पनि एकै खालको भौगोलिक, साँस्कृतिक, सामाजिक र जातीय संरचना पाउन सकिदैन् । भूगोल समान भए पनि सामाजिक, साँस्कृतिक र जातीय आधार समान पाउन सकिदैन । जुनसुकै भूभागमा पनि कुनै न कुनै पृथक र पहिचान युक्त प्राकृतिक तथा भौगोलिक आधार पाउन सकिन्छ । त्यसैले त प्रत्येक बर्ष बिश्चका बिभिन्न मुलुकबाट नेपालको शौन्दर्यता नियाल्न बर्षेनी पर्यटकहरु ओइरिने गर्दछन् ।

प्राकृतिक शौन्दर्यताले सम्पूर्ण रुपमा पूर्णता हुँदा हुँदै पनि प्रचारप्रसार र उचित संरक्षणको अभावमा ती स्थानहरुको महत्वको बारेमा जनमानसमा थाहा नहुँदा ओझेलमा परेका छन् । कतिपय स्थानहरु यातायातको अभावमा प्रचुर हुन सकेका छैनन भने कतिपय संरक्षण लगायतको बेवास्ताको कारण पछाडी परेका छन् । यस्तै मध्येको गुल्मीको तम्घास सदरमुकामको पश्चिममा अबस्थित अर्जुन लेक पनि उचित संरक्षण र प्रचार प्रसारको पर्खाइमा रहेको स्थान हो भन्दा अतिशयोक्ति नहोला ।

रुपन्देहीको बुटवलबाट करिब १३८ किमी उत्तरतर्फ गुल्मी जिल्लाको सदरमुकाम तम्घास पर्दछ । गुल्मीको तम्घाससम्म पुग्ने मुख्य मार्ग बुटवल पाल्पा तम्घास नै हो तथापी अहिले बाग्लुङ र अर्घाखाँची हुँदै पनि तम्घास पुग्न सकिन्छ । तर पहिले देखि नै संचालन र चलन चल्तीमा रहेको बुटवल, पाल्पा, रिडी हुँदै तम्घासको सडक यात्रा नै धेरैले प्रयोग गर्ने गर्दछन् । हुनत यही बाटो हुँदै यात्रा गर्दा पाल्पा जिल्लामा रहेका बिबिध प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरुको रस्वसादन पनि लिन सकिने हुँदा गुल्मीलेहरुको लागि यो सडक नै प्रमुख रोजाई हो भन्न सकिन्छ । बुटवलबाट पाल्पा जिल्लाको पबित्र तीर्थस्थल सिद्धबावा मन्दिरको बाँया हुँदै तिनाउँ नदीको तिरैतिर दोभान पार गरी अगाडि बढ्दा नदीलाई छोडेर सडकले कठिन पहाडी भूगोल भएको पाल्पाको प्रसिद्धा स्थान केराबारी हुँदै जानु पर्दछ । केराबारी अगाडी जोरधारा नजिकबाट तल हेर्दा कहाली लाग्दो अनकण्टार खोंचमा तिनाउ नदीको मसिनो प्रारुप मात्र देख्न सकिन्छ । यात्राको क्रममा बीच बीचमा माथि पहाडको खोचबाट बगेको कञ्चन झरनाको छवाङ छवाङ आवाजसँगै सिरसिर गर्दै आउने चिसो हावाको आनन्द कदापी बिर्सन सकिदैन् ।

पाल्पा जिल्ला इतिहासको काल खण्ड देखि नै कुनै न कुनै हिसाबले चर्चित मानिन्छ । यहाँ रहेका मनोरम प्राकृतिक सौन्दर्यहरुको असीम आनन्द लिदैं तानसेन बजार पार गरी बतासेडाँडा मुनिको बाक्लो र घना सालघारीको माझबाट उकालो हुँदै यात्रा गर्दा आउने खुशी र आनन्दले जो कोही पनि प्रभावित नहुने कुरै आउँदैन । इतिहासको काल खण्डमा नेपाल राज्य निर्माण हुनु भन्दा अगाडि त्यतिबेला अस्तित्वमा रहेका बिभिन्न बाइसे चौबिसे र भुरे टाकुरे राज्यहरु मध्ये पाल्पा राज्य अत्यन्त शक्तिशाली मानिन्थ्यो । यो राज्य शक्तिशाली हुनुमा यहाँको कठिन भौगोतिक बनावट पनि प्रमुख आधार रहेको हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।

स्याङजा, गुल्मी र पाल्पा जिल्लाको संगम स्थलको रुपमा रहेको प्रसिद्ध तीर्थस्थल रहेको रिडी क्षेत्रको पश्चिमी साँध सीमाना भएर बग्ने रिडी खोलामाथि रहेको पक्की तर साँघुरो पुललाई पार गर्नासाथ गुल्मी जिल्लामा पाइला टेकिन्छ । रिडी बजारबाट उकालो यात्रा सुरु गरी करिब ४५ किमी साँघुरो र घुमाउरो सडकको यात्रा पार गरेपछि अर्जुन र तपोभूमी रेसुङगा लेकको काखमा अबस्थित रमणीय तमघास बजार पुग्दा जो कोहीलाई पनि भारतको प्रसिद्ध पर्यटकीय शहर दार्जिलिङ पुगेको भावानुभुति हुन्छ । पूर्वमा रेसुङगा र पश्चिममा अर्जुन लेकको काखमा अबस्थित रमणीय तमघास बजार देखेर मन नलोभ्याउने सायदै कोही होला ।

गुल्मी जिल्लालाई नेपाली मानचित्रमा परिचित गराउने बिभिन्न भौगोलिक र धार्मिक तथा साँस्कृतिक सम्पदाहरु रहेका छन, रिडी क्षेत्र, सत्यवती लेक, धुर्कोट गुफा, गुल्मी चारपाला दरवार, रेसुङगा, अर्जुन, आँपचौर कफी खेती आदि हुन भने प्रत्येक बर्षको दशैंमा देवीका मन्दिरहरुमा खेलिने सरायँ नाच गुल्मीको अलावा अर्घाखाँचीमा मात्र खेलिन्छ । तर जति रेसुङगाको बारेमा गुल्मेली माझ र नेपाली मानचित्रमा चर्चा हुन्छ त्यति चर्चा सँगै पारी पाट्टी करिब करिब समान उचाईको अर्जुनको हुने गर्दैन ।

जिल्ला सदरमुकाम तम्घासलाई पश्चिम तर्फबाट छपक्कै काखमा छोपेर रहेको अर्जुनको महिमाले गुल्मी जिल्लाको सानलाई अझ आत्मीय र ज्वाजल्यमान बनाउन सकिने अबसर हामी सँग छ । छिमेकी जिल्ला अर्घाखाँचीको पुर्वी प्रस्थान बिन्दुको रुपमा रहेको अर्जुन लेकको बारेमा गुल्मेली दाजुभाई तथा दिदी बहिनीहरु पनि यधपी साक्षात्कार हुन नसकेको अबस्था छ । धार्मिक, ऐतिहासिक, जैबिक र पर्यटकीय महत्वले भरिपूर्ण अर्जुनको महत्व र यसको प्राचीन इतिहास खोज्ने हो भने यो एउटा स्वर्णरुपी किताब बन्न सक्छ ।

जिल्ला सदरमुकाम तम्घासबाट पश्चिम फर्किएर हेर्दा चारैतिर घना जङगलले भरिएको पुर्वी रेसुङगाको हाराहारी उचाईको हरियो च्यादर ओढी लतमन्न परेर सुतेकी शुन्दर महिला जस्तै देखिन्छ अर्जुन लेक । हुनत केहि बर्ष अगाडिसम्म अर्जुन लेकमा प्रशस्त हरियाली र ठूला बनस्पती तथा बोट बिरुवाहरु देख्न पाइदैनथ्यो । यसले चर्चेको ईलाकामा ऐशेलु, चुत्रो र स-साना काँढेदार बोटबिरुवा तथा सीमित मात्रामा बनस्पतीहरु पाइन्थ्यो । जङगलको एक भागबाट अर्को भागमा निस्कनको लागि यदि बिना बाटो प्रयास गर्ने हो भने काँढेदार बुट्यान र बनस्पतीको कारण शरीररमा लगाएको लुगा च्यातिएर कुन लुगा लगाएको हो भन्ने भेउ पाउन मुश्कील हुन्थ्यो । तर नेपालमा सामुदायिक बनको बिकाश भए संगै काँढेदारयुक्त बुट्यान र बनस्पतीले भरिएको लेक अहिले घना जङगलमा परिणत भएको छ । यहाँ सल्लो र उत्तीस, कटुंश, लाली गुराँस लगायतका बनस्पति तथा बिबिध खालका अन्य जडिबुटियुक्त बोटबिरुवाहरुले गर्दा बन हरियाली मात्र भएको छैन, मनमोहक र आकर्षकसमेत भएको छ । बन जङगलमा आश्रित जनावरहरुको लागि अहिले गतिलो बासस्थानसमेत भएको छ ।

अर्घाखाँची जाने बसपार्कबाट अर्जुनको यात्रा प्रारम्भ गर्दा कारिब सवा घण्टाको पैदल यात्रामा सहजै अर्जुन लेकमा पुग्न सकिन्छ । यसो भन्दै गर्दा त्यहाँसम्म पुग्नको लागि सडकको सुबिधा नभएको भन्ने चाहिं होइन । तम्घासबाट देउराली हुँदै र अर्घाखाँची जीप पार्कबाट गाडी तथा मोटर साइकलबाट समेत अर्जुन लेकमा पुग्न सकिन्छ । तर गाडी तथा मोटरसाइकलबाट यात्रा गर्दा भुजेलखर्कको बीचमा रहेको प्रसिद्ध भगवती मन्दिरको दर्शन गर्न भने छुटन सक्छ । भुजेलखर्कमा रहेको प्रसिद्ध भगवती मन्दिर त्यस भेकमा अत्यन्त प्रख्यात छ । यहाँ पूजा आजाको लागि अन्य मन्दिरमा जस्तो दैनिक श्रद्धालु भक्तजनहरुको घुंँइचो भने हुंँदैन् । तर दशैंको घटस्थापना लदेखि द्धादसीसम्म बिशेष पूजा हुने गर्दछ । पैदल अर्जुन लेकको यात्रा गर्दा भुजेलखर्कको भगवती मन्दिरको दर्शन अलि पर माइकास्थानमा रहेको प्रसिद्ध शिवालयको दर्शन गर्दा असीम आनन्द अनुभूति हुन्छ । मन्दिर दर्शनको अलावा उत्तरमा नजिकै देखिने शीरमा सेतै हिउंँको ढिक्का बोकेर गजधम्म परेर अटल भई बसेका धवलागिरी लगायतका हिम श्रृंँखलाहरुको मनमोहक दृश्यहरुले जो कोही लाई मन्त्रमुग्ध बनाउंँछ । माइकोस्थानबाट उकालो समात्दा करिब ४५ मिनेटमा दुरिखोला, चौपारी (हाल सो स्थानमा टावर निर्माण भए पश्चात सेल्फी टावरको नामले परिचित) राजाको पंँधेरो (बाइसे चौबिसे राजाहरुको शासनकालमा भुरे टाकुरे राजाहरु मध्ये अर्जुन किल्लामा रहेका राजाले पानी पिउन प्रयोग गर्ने पंधेरो) हुंँदै गाडी गुड्ने मोटर बाटो समातेर प्रसिद्ध भगवती मन्दिर रहेको समथर वरिपरि पर्खालले घेरिएर बनेको अर्जुन लेकमा पुग्न सकिन्छ ।

प्राचीन कालदेखि नै अर्जुन लेकमा स्थापित अर्जुन भगवती मन्दिर, छत्रस्थान, नागस्थान, सिद्धस्थान र शिवस्थानमा पूजाआजा चलिआएको परम्परा छ । उक्त मन्दिरमा स्वच्छ ह्रदयले मागिएका बरदानहरु पुरा हुन्छन भन्ने बिश्वाससमेत रहि आएको छ । यहांँ प्रत्येक बर्षको बडा दशैंको अवसरमा घटस्थापनाको दिनदेखि नवदुर्गा देवीको पूजा गर्न श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । सप्तमीको दिनमा मन्दिरमा बिधिपुर्वक फूलपाती भित्रयाउने, अष्टमीको दिन कालारात्री पूजा गरी बिभिन्न प्रकारका बस्त्र पहिराई देवीको रुपमा बाहिर मण्डपमा देवी निकाली राखिन्छ । नवमीको दिन टाढा टाढाबाट श्रद्धालु भक्तजनहरुले ल्याएका तथा मनोकाक्षां पुरा होस भनि भाकल गरेका रांँगा, बोका र कुखुराको बली चढाइन्छ भने दशमीको दिनमा देवीलाई टीका चढाई आफूले पनि टिका ग्रहण गरे पश्चात बेलुका तमघास, भुजेलखर्क, कुंँडापानी, बेतुखर्क, सोता र अन्य स्थानका भक्तजनहरु समेत ठूलो संख्यामा भेला जम्मा भई बाहिर मण्डपमा निकालिएका देवी देउतालाई मन्दिरमा भित्र्याई गुल्मी जिल्लामा प्रख्यात सरायं नाच खेली बिसर्जन गर्ने चलन छ ।

अर्जुन लेकमा बि.सं. १८५० भन्दा अगाडी बाइसे चौबिसे राजाहरु अन्तरगत भुरे टाकुरे राजाहरुको शासन कालमा राजाले शासन गरेका केहि भग्नावशेषहरु यधयी देख्न सकिन्छ । महाभारत कालखण्डमा पांँच पाण्डव मध्येका एक भाई अर्जुन घुम्दै फिर्दै सो स्थानमा आई पुगेको र सोही स्थानबाटै गीताको तत्व ज्ञान प्राप्त गरेको हुंँदा उहांँकै नामबाट उक्त लेकको नाम अर्जुन रहेको भन्ने बिश्वास रहि आएको छ । यसै लेकको भिरपाखामा अन्दाजी १०० मीटर लामो अनौठो किसिमको गुफाको साथै छुट्टै ठूलो रुपमा भएको ओढार, राजाले पानी पिउने पंँधेरो, बाजा जस्तै बजाउन सकिने फलामे शैलीको दमाहा आकारको ढुङगा, त्यहाँ भएका राजालाई दुश्मनले आक्रमण गर्न नसकुन भनेर वरिपरि बनाइएको ढुङगाको पर्खाल भग्नाव शेषको रुपमा रहेको छ । सो किल्लाको उत्तर पश्चिम भागबाट लेकमा प्रवेश गर्ने नाकामा ढुङगाकै कपेरोमा कोपेर बनाइएको तगारो लगायतका संरचनाहरु यद्यपी देख्न सकिन्छ, जुन उचित संरक्षण र प्रचारप्रसारको पर्खाईमा छन् ।

लेकको पश्चिम पट्टि आडैमा टोपीफाले भन्ने स्थान रहेको छ । जहाँ जतिबेला पनि हावा तिब्र गतिमा चलिरहन्छ । जुन स्थानबाट जति जोडले टोपी, पछ्यौरा तथा अन्य साना तिना कपडाहरु तल फाले पनि हावाले ती कपडाहरु जहाँबाट फालेको थियो सोही ठाउँमा फर्काइदिन्छ । यसलाई अनौठो नै मान्नु पर्ने हुन्छ । जैबिक बिबिधताले भरिपूर्ण यस लेक र लेकले चर्चेको इलाकामा हाल करिब १०० भन्दा बढी प्रजातीका चाँप, ओखर, लाली गुंँरास, कुरिलो, तेजपत्ता, चिराइतो लगायतका बनस्पतीहरु पाइन्छन् । बाघ भालु, मृग, स्याल, बांँदर, ढेढुवा र दुम्सी आदि जनावरहरु पनि यस क्षेत्रमा पाइन्छन् । यसको तल्लो भागमा गाउँ र गाउँ माथि दक्षिण पश्चिममा करिब १६५ हेक्टर भीर पाखा, बुट्यान जुङगल र पुर्व उत्तरमा करिब १०० हेक्टर समथर जङगल पाइन्छ ।

तम्घासको पुर्वी शीरमा रहेको तपोमूमी रेसुङगाको ब्यापक मात्रामा रुपमा प्रचारप्रसार भएको छ, पर्यटकहरु आकर्षित गर्नको लागि बिभिन्न खालका संरचनाहरु निर्माण भएका छन । तर ठ्याक्कै पश्चिमी शीरमा रहेको अर्जुनको उचित संरक्षण र सोही अनुरुप प्रचारप्रसार हुन सकेको छैन् । यसको चुचुरोबाट बिहान उदाउन लागेको लाल वर्णको सूर्य,अन्नपूर्ण, माछापुछ्रे, धवलागिरी, जस्ता हिमश्रृखंलाहरु, गुल्मी, अर्घाखाँची,प्यूठान, वाग्लुङ, पर्वत, स्याङजा र पाल्पा जिल्लाका बिभिन्न स्थानहरुको अवलोकन गर्न सकिन्छ । जिल्लाको सदरमुकामको पश्चिमी शीरमा रहेको यस्तो रमणीय र मनमोहक लेक जहांँ परापुर्व कालदेखि देवीको शक्ति भएको, चारैतर्फ गाउँ बस्ती भएको शुन्दर स्थल अर्जुन लेकलाई एउटा प्रमुख पर्यटकीय स्थलको रुपमा बिकास गर्नु अपरिहार्य छ । तर अर्जुन लेक तथा यसको आसपासको क्षेत्र घना जङगलले घेरिएको हुँदाहुँदै पनि यहाँयथेष्ठ पानीको श्रोत भने छैन् । यहांँको मुख्य समस्या पानी नै हो । तसर्थ पानीको उपलब्धता हुन सकेको खण्डमा यस क्षेत्रलाई पर्यटकीय स्थलको अलावा पिकनिकको स्थलको रुपमा पनि बिकास गर्न सकिन्छ । जैबिक बिबिधताले भरिपूर्ण पुरातात्विक, ऐतिहासिक तथा धार्मिक देवस्थलसमेत भएको र प्रशस्त पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको संरक्षणमा सरोकारवालाहरु लागेको खण्डमा ओझेलमा पर्नबाट बचाउन सकिन्छ ।

लेखक: गुल्मी तम्घास निवासी, हाल जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख (डीएसपी) हुनुहुन्छ ।

कमेन्टहरु