भ्रष्टाचार मुद्दामा मुछिएपछि लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्बित


बुटवल, फागुन १२ । लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव सांसद पदबाट निलम्बन भएका छन्। यादव विरुद्ध भ्रष्टाचार मुद्दा परेपछि प्रदेशसभाले उनलाई सांसद पदबाट निलम्बन गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसमेतलाई विपक्षी बनाई भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा हालेको छ। वन पैदावारको हानी नोक्सानी गरि भ्रष्टाचार गरेको आरोप यादव माथि छ।
कपिलवस्तुको गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको आरोप अख्तियारले उनी माथि लगाएको छ।
गत ८ गते अदालतमा मुद्दा दायर गरेको आयोगले यादवलाई सांसद पदबाट निलम्बन गर्न प्रदेशसभालाई परिपत्र गरेको थियो। सोही परिपत्रका आधारमा यादवलाई सांसद पदबाट निलम्बन गरिएको प्रदेशसभाले जनाएको छ।
हाल अदालतमा विचाराधीन रहेको मुद्दा किनारा नलागेसम्मका लागि यादवलाई निलम्बन गरिएको प्रदेशसभाले जनाएको छ।
राप्रपाका यादव कपिलवस्तु निर्वाचन क्षेत्र ३ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए। यादव यसअघिको नेकपा एमाले नेता लिला गिरी नेतृत्वको सरकारका उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्रीसमेत बनेका थिए।
अख्तियारले सांसद यादवसहित १९ जना विरुद्ध मुद्दा दायर गरेको छ। उनीहरूले काठ लुकाएर विक्री गरि २९ लाख १२ हजार १ सय ९३ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।























