अपराध, गण्डकी प्रदेश

अदालतले धरौटीमा रिहा गरेका वडाध्यक्ष ठगी मुद्दामा पक्राउ

नवलपुर टुडे
२०८० फाल्गुन ८ | मध्यान्ह ०७:११ बजे

पोखरा । पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी सहकारी प्रकरणमा अदालतबाट धरौटीमा रिहा भएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ। पोखराकै मित्रमिलन बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा फरार सुवेदी कानुन व्यवसायीको साथमा मंगलबार जिल्ला अदालत कास्की उपस्थित भएका थिए।

जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजालसले धरौटीमा छाड्ने आदेश दिएको हो। जिल्ला अदालत कास्कीका स्रेस्तेदार रुद्रप्रसाद अर्यालका अनुसार ८ लाख रुपैयाँ धरौटीमा छुटेका हुन्। सहकारी प्रकरणमा धरौटीमा छुटेलगत्तै प्रहरीले उनलाई अदालत परिसरबाटै पक्राउ गरेको हो।

घरजग्गा कारोबारमा ठगी प्रकरणमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए । २ करोड १० लाख रुपैयाँ ठगी गरेको आरोपमा उजुरी परेको उनले जानकारी दिए। सहकारीमार्फत नै घरजग्गा हत्याएको वडाध्यक्ष सुवेदीमाथि आरोप लागेको छ।

मित्रमिलन सहकारी प्रकरणमै अदालत उपस्थित भएका कानुनी व्यवसायी जनकल्याण पराजुलीलाई जिल्ला अदालत कास्कीले आइतबार धरौटीमा रिहा गरेको छ। पराजुलीलाई न्यायाधीश नवराज दाहालको एकल इजलासले सहकारी ठगीमा ३ लाख धरौटीमा छाड्ने आदेश दिएको हो।

कमेन्टहरु