दुई हजार जरिवाना तिरेर कास्की प्रशासनबाट छुटे गणेश लामा


काठमाडौ । निषेधाज्ञा उल्लङ्घनको आरोपमा बिहीबार पक्राउ परेका गणेश लामा दुई हजार तिरेर छुटेका छन्। वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा रहेका लामालाई प्रहरीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएका थिए।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले दुई हजार जरिवाना तिराएर लामालाई रिहा गरेका हुन्।
लामासहित बुधबार पोखरा आएका चन्द्र लामा र रमेश खड्कासँग पनि जनही दुई हजार जरिवाना तिराएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।
अबदेखि निषेधाज्ञा उल्लङ्घन नगर्ने सर्तमा उनीहरू रिहा भएको प्रशासनले जनाएको छ।गण्डकी सरकार परिवर्तन गर्न दीपक मनाङेलाई मनाउन उनीहरू पोखरा आएको बताइएको छ।
पोखरामा मनाङेसँग भेटेर लामाले कांग्रेस गठबन्धनलाई सघाउन आग्रह गरेको जनाइएको छ ।बिहीबार प्रदेश सभामा भएको विश्वासको मतदानमा मन्त्रीसमेत रहेका मनाङे अनुपस्थित भएका थिए।
मनाङेले नै लामालाई अपराधिक गतिविधिमा सहभागी गराएका थिए।























