लुम्बिनी प्रदेशमा प्रदेश निजामती सेवा नियमावली २०८० स्वीकृत


दाङ । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामति सेवा नियमावली २०८०’ पारित गरेको छ। मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले प्रदेश निजामती सेवा नियमावली २०८० स्वीकृत गरेको हो।
प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा मन्त्रिपरिषद्ले नियमावली स्वीकृत गरेको हो। ऐनको दफा १३१ ले प्रक्रियागत र कार्यविधिगत पक्षमा स्पष्टता ल्याई कार्यान्वयन गर्न विभिन्न नियमावलीसहितका कानुन बनाउन सक्ने व्यवस्थाअनुसार प्रदेश निजामती सेवा नियमावली २०८० ल्याइएको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बताए।
केही समयअघि सरकार बनेलगत्तै प्रदेश निजामती सेवा ऐन जारी भएको थियो। सोही आधारमा सरकारले नियमावली ल्याएको हो। असार २२ गते प्रदेश सभामा दर्ता भएको विधेयक भदौ २२ मा प्रदेश सभाले पारित गरेको थियो। प्रदेश प्रमुख अमिक शेरचनले विधेयकलाई मंसिर २१ मा प्रमाणीकरण गरेका थिए। प्रमाणीकर भएको करिब साढे दुई महिनापछि प्रदेश सरकारले नियमावली पारित गरेपछि कार्यान्वयनको बाटो खुलेको छ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्मचारीको व्यवस्थापन र बृृद्धिविकासका लागि ऐन र नियमावली सरकारले ल्याएको बताए। उनले प्रदेशका निजामती कर्मचारीका लागि कानुन नियम बनिसकेको र अब सरकारले स्थानीय तह कर्मचारी सेवा ऐन ल्याउने तयारी गरेको जानकारी दिए।
त्यसैगरी ‘प्रदेशका आयोजनाको बहुबर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड २०८०’ स्वीकृत गर्ने निर्णय गरेको छ। सुशासन, विकास, समृद्धिको लागि आयोजना व्यवस्थापन र सार्वजनिक खर्च प्रणालीमा प्रभावकारीता ल्याउन बहुवर्षिय आयोजनाको समुचित व्यवस्थापन गर्नुपर्ने भएकाले मापदण्ड स्वीकृत गरिएको प्रबक्ता पाण्डेयले उल्लेख गरे।























