सूचना / प्रबिधि

पत्रकारिता तथा आमसञ्चार विभाग अब आफ्नै भवनमा

नवलपुर टुडे
२०८० फाल्गुन २ | मध्यान्ह ०५:११ बजे

बुटवल, फाल्गुन २ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित नवनिर्मित भवनको उद्घाटन भएको छ।

बुधबार बल्खुस्थित विभागको नवनिर्मित भवनको उद्घाटन एक कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा.डा शिवलाल भुसालले गरेका हुन्। 

लामो समयसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको उद्घाटन भएसँगै सबै कार्यक्रमहरु नयाँ भवनबाट सुरु भएको छ।

चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको हो। उद्घाटन कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रा. चिरञ्जीवी खनालले रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा साना ठाउँ भएकाले विभागको पहलमा भवन निर्माण भएको बताए। 

सीमित स्रोत साधनबिच पनि विभागले गुणस्तरीय पत्रकारिता शिक्षा दिइँदै आएको उनको भनाई छ। ‘पत्रकारिताको अध्यापन पनि नयाँ ढङ्गबाट लैजानुपर्छ भन्ने उद्देश्यले विभागको पहलमा विश्वविद्यालयले भवन बनाइदिएकाले आफ्नै संरचना बन्न सफल भएको छ।’ उनले भने।

विभागको कुनै ठूलो कार्यक्रम र नयाँ प्रविधि राख्न समेत ठाउँको अभाव भएकाले पनि सबैको साथ सहयोगमा नयाँ संरचना र पूर्वाधार तयार बनाउन सफल भएको उनले बताए।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा शिवलाल भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको सुविधा सम्पन्न संरचना बनेसँगै विभागलाई चुनौती पनि थपिएको बताए।

‘विश्वमा हुने दिनप्रतिदिन हुने नयाँ परिवर्तन, नयाँ विकास र उपलब्धिहरूलाई समेटेर देशभित्र भित्र्याउन सक्नुपर्छ। त्यसको लागि नेपाल सरकारसँग सहकार्य गर्दै जानुपर्छ।’ उनले भने।

उपकुलपति भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको स्तर वृद्धिको लागि विश्वविद्यालयले सधैँ सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए।

भ्याली बाबुरत्न जेभी निर्माण कम्पनीले २१ करोड ५९ लाखको लगतमा भवन निर्माण गर्ने सम्झौता गरेको थियो।

नयाँ भवनमा सुविधा सम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययन स्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि (विदेशी) प्राध्यापक आवास लगायत रहेका छन्।

त्रिविले विसं २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, विसं २०६७ देखि विद्यावारिधि र विसं २०७४ देखि  दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो।

कमेन्टहरु