छायाँ कम्प्लेक्सप्रति कुनै विरोध नभएको पाण्डेको अभिव्यक्तिप्रति नेवा: देय् दबूकाे गम्भीर आपत्ति


काठमाडौँ, माघ २९ । नेवार समुदायको जातीय छाता संगठन नेवाः देय् दबूले छायाँदेवी कम्पलेक्स प्रा.लि. का डाइरेक्टर सुमन विक्रम पाण्डेले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
पाण्डेले ठमेलस्थित पलेस्वां पुखूमा निर्माण भएको विवादित छायाँदेवी कम्पलेक्सको विषयमा नेवाः हरुको राष्ट्रिय संगठन नेवाः देय् दबूमा दुई घण्टा आफूले ब्रिफिङ गरेको र नेवाः देय् दबूको कुनै विरोध नभएको भनी दिएको अभिव्यक्तिप्रति संगठनले प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएको हो ।
आइतबार नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले विज्ञप्ति जारी गर्दै नेवाः देय् दबूसँग कुरै नगरीकन पाण्डेले गत भदौ ५ गते सुत्र टिभिमा नेवाः देय् दबूप्रति दिएको अभिव्यक्तिमा पूर्ण असहमति रहेको बताएका छन् ।
उनले नेवाः देय् दबू देशभरिका नेवा:हरुको साझा राष्ट्रिय संगठन रहेको र संगठन सदैब आदिवासी नेवा: हरुको प्रथाजनीत संस्था गूठी, संस्कृति, सम्पदा, भूमिको पक्षमा पैरवी गर्दै आएको स्पष्ट पारेका छन् । विवादास्पद छाँयादेवी कम्प्लेक्स भवन बनेको स्थान ऐतिहासिक कमल पोखरी रहेको र नेवा: संस्कृतिसँग जोडिएको पुरातात्त्विक कमल पोखरी हो भन्ने सवालमा नेवा: देय् दबूको स्पष्ट दृष्टिकोण रहेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै छाँयादेवी कम्प्लेक्सका डाइरेक्टर पाण्डेले सार्वजनिक रुपमा नेवा: देय् दबूको सवालमा दिएको अभिव्यक्ति फिर्ता लिन संगठनले माग गरेको छ । अब उप्रान्त संस्थाकी नाम लिएर यस्ता गम्भीर विषयमा नबोल्न सचेत समेत गराइएको छ ।
























