कृषि, मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

राजनिती संगै फलफुल खेतीबाट चम्किदैँ शाही

उमेश रोकाया
२०८० माघ २९ | बिहान ०८:१० बजे

केही गर्छु भन्ने इच्छाशक्ति भयो भने पैसा अभावले मात्र पनि रोक्दो रहेनछ, न त उमेरले नै छेक्दो रहेछ । मात्र काम गर्ने उपयूक्त योजना, र मिहिनेत चाहिँदो रहेछ भन्ने उदाहरण बन्नुभएको छ बाजुराको जगन्नाथ ३ मनिकाँडाका ऐनबहादुर शाही । 

उमेरले ४४ वर्षीय शाही गाउँमै फलफुल खेती गरेर मनग्य आम्दानी गरी रहनु भएको छ । उहाँलाई न विदेश जाने मोह छ, न त सरकारी अनुदान पाउने आशा नै । तर पनि विगत ७ वर्षदेखि व्यावसायिक स्याउ तथा कागती खेतीबाट उहाँले राम्रो आम्दानी गर्दै आइरहनुभएको छ । कृषि पेशाबाट गाउँमै केही गर्न सकिन्छ भनेर लागि पर्नुभएका शाहीले स्याउ र कागती खेतीबाट बार्षिक ८ लाख भन्दा बढी आम्दानी गर्दै आउनु भएको छ । परम्परागत रुपमा कृषि पेशा गर्दै आएका उहाँ अहिले व्यवसायिक रुपमा कृषि पेशामा हुनु हुन्छ । स्थानीय स्तरमै स्याउ र कागती खेती गरेर उत्तम हावापानी, बाँझो जमिनलाई सदुपयोग गरेर आफ्नो आम्दानी मात्रै बढाउनु भएको छैन, विदेश जाने लहरमा रहेका युवालाई मिहिनेत गरे गाउँघरमै प्रसस्तै सम्भावना छन् भन्ने सन्देश पनि दिइरहनुु भएको छ । 

फलफुल खेतीबाट छोरा छोरीलाई पढाउन अरुसँग हात थाप्नु नपरोस, नेपालगञ्ज, सुर्खेत, धनगढीबाट भरिभराउ सामान लिएर आउने ट्रकलाई खाली पठाउनुु पर्ने बाध्यतालाई थोरै भएपनि आफ्नो ठाउँमा फल्ने स्याउ र कागती खेती गरेर आम्दानी गरिरहुनुु भएको छ । सुरुमा कागतीका बिरुवा आफैं उमारेको भए पनि र स्याउका विरुवा जुम्लाबाट ल्याएर व्यवसायिक खेती सुरु गरेको उहाँको भनाइ छ । जुम्लाबाट स्याउका विरुवा खरिद गरेर तीन लाख लागतमा रोप्नुु भएको हो । डिभिजन वन कार्यालय बाजुराबाट ४० वर्षका लागि साढे ४ हेक्टर जग्गा भाडमा लिएर स्याउ खेती गर्नुु भएको छ । कागतीका लागि आफ्नै व्यक्तिगत जग्गा जमिनमा खेती गर्दै आएका शाहीलाई बिक्री गर्न बजारसम्म जानु पर्दैन । व्यापारी नै फार्ममा खरिद गर्न आउने गरेका छन् । उहाँले भन्नुभयो ‘म सँग एक हजार ५ सय ५० स्थानीय जात र ५० बोट इटालियन जातको स्याउ छ । तीन सय ७० बोट स्थानीय सुनौलो जातको कागती रोपेको छु । यसबाट वर्षमा ४५ देखि ५० क्वीन्टल स्याउ र १० क्विन्टल कागती उत्पादन हुन्छ । बिक्रीका लागि बजार खोज्दै अहिलेसम्म हिँड्नु परेको छैन, व्यापारी आफै आएर लिने गर्दछन् ।’ त्यति मात्रै होइन, अहिले उहाँको कृषि फार्म अध्ययन अवलोकनका लागि आकर्ष हुन थालेको छ । आफ्नो उत्पादन जिल्ला बाहिर पुगेको उहाँको भनाई छ । गत वर्ष मात्र सुर्खेत र छिमेकी  बडिमालिकामा पनि पुगेको उहाँले बताउनुु भयो ।

 एक गाडी सुर्खेतका लागि पठाए भने अर्काे एकगाडी बडिमालिका नगरपालिका पठाएर त्यसबाट चार लाख आम्दानी पनि भएको उहाँले जानकारी गराउनुु भयो । ‘६ जनाको परिवारको मुख्य आम्दानीको श्रोत नै त्यहि स्याउ र कागती खेती बनेको छ,’ उहाँले भन्नु भयो । व्यापारीलाई कागती थोकमा ७० देखि ७५ रुपैयाँ प्रतिकिलो र फुटकरमा एक सय रुपैयाँ प्रतिकिलो र स्याउ थोकमा ५० देखि ६० रुपैयाँ प्रतिकिलो र फुटकरमा एक सय रुपैयाँ प्रतिकिलो बिक्री गर्ने गरेको उहाँको भनाई छ । वर्षमा एक पटक फल मिल्ने र एक बोटबाट कम्तिमा पनि २ हजार नाफा हुने गरेको उहाँले बताउनुु भयो । 

एक वर्षसम्म मेहनत गरेपछि मात्र फल दिने हुँदा आफूले घर खर्चका लागि छोटो समयमा प्रतिफल दिने तरकारी र पुष्प खेती पनि सँगै गर्ने गरेको उहाँले बताउनुभयो । यसबाट प्रत्येक वर्ष पुष खेतीबाट ९० हजार र तरकारीबाट २ लाख आम्दानी गरिरहेको उहाँको भनाइ छ ।  

मासिक ८ लाखसम्म आम्दानी हुने बताउँदै आफ्नो कृषि फार्ममा सात जनाले रोगजार पाएको समेत उहाँले बताउनुभयो । उहाँले कामदारका लागि ५ लाख वार्षिक हजार खर्च हुने गरे पनि आफ्नो खर्च, छोरा छोरीलाई पढाइ खर्च छोडेर तीन लाख बचत हुने गरेको उहाँको भनाई छ ।  

७ वर्ष अघिदेखि व्यावसायिक रुपमा स्याउ र कागती खेती गर्दै आउनु भएका शाहीले अझै यो व्यवसायलाई फष्टाउने लक्ष्य लिएको बताउनु भयो । अहिले एक हजार ९ सय ७० स्याउ र कागतीको बिरुवा फलिरहेका छन् । शाहीले प्राकृतिक विपद्बाट फलफुलका विरुवालाई जोगाउन सक्यो भने अबको दुुई वर्षपछि बार्षिक ७० लाख रुपैयाँ कमाउने आफ्नो लक्ष्य रहेको उहाँको भनाई छ । स्याउ, कागती, पुष्प, तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने आफूमा विश्वास समेत रहेको उहाँले बताउनुभयो । अहिले पनि सदरमुकाम मार्तडी, डडेलधुरा, धनगढी, सुर्खेत  माग भैरहेको छ । उत्पादन कम छ, माग बढी छ पुर्याउनै नसकेको उहाँको भनाई छ । 

हालसम्म कुनै पनि सरकारी निकायबाट आवश्यक आर्थिक सहयोग नपाएको गुनासो पनि उहाँको छ । कृषि ज्ञान केन्द्र बाजुराले दुई वटा सिँचाइ ट्याङ्की निमार्ण गरि दिएको र स्याउ ओखर जैतुन जोन कार्यक्रम अन्र्तगत जोन जैतुनले घेरवार गरि दिएको बताउनुभयो । यता स्थानीय तह अथवा निकायबाट एउटा स्याउ कलमीका लागि सिकेचरसम्म पनि नपाएको गुनासो उहाँको छ ।  उहाँ नेकपा एकिकृत समाजवादी बाजुराका सचिवलय सदस्य समेत हुनुहुन्छ।

कमेन्टहरु