समाचार

रौतहटको सदरमुकाम गौरमा टेम्पो, ई-रिक्सा चलाउन चालकले बुझाउँछन् महिनावारी

अशोक यादव
२०८० माघ २८ | मध्यान्ह ०४:१० बजे

रौतहट, माघ २८ । रौतहट जिल्लाको सदरमुकाम गौरमा टेम्पो, ई-रिक्सा चलाउन चालकले महिनावारी बुझाउने तथ्य बाहिरिएको छ । सदरमुकाम गौरमा करिब १२ दर्जनको हाराहारीमा रहेको भारतीय टेम्पो र ई-रिक्साका चालकहरुले टेम्पो संघलाई १ हजार देखि १२ सयको महिनावारी बुझाउनु परेको नाम नखुलाउने सर्तमा एक टेम्पो चालकले बताएका छन् ।

ट्राफिक प्रहरी तथा कुनै दुर्घटना हुँदा सहुलियत पुग्नका लागि टेम्पो संघले प्रत्येक टेम्पो र ई-रिक्साका चालकसँग महिनावारी उठाउने गरेको हो । ट्राफिक प्रहरी कार्यालयको छेउमै रहेको अस्थायी टेम्पो स्टेण्डबाटै क्षमता भन्दा बढी सवारी बोकेर अोहोर दोहोर गर्ने गरेको तर ट्राफिक प्रहरी मौन देखिएको छ ।

टेम्पो चालकले भन्छन्, ‘हामीहरु महिनावारी तिर्छौ हाम्रा संघका ब्यक्तिहरुले सबै मिलाएको हुन्छन् । नतिरेपछि अनावश्यक दु:ख दिने गर्दछन् ।’ टेम्पो संघले महिनावारी उठाउँदा गौरमा छाडातन्त्रमा टेम्पो, ई-रिक्सा चलिरहेको हुँदा टेम्पो चालकहरुलाई ट्राफिक प्रहरीले कार्वाही नगरी सर्वसाधारणलाई दु:ख दिने गरेको सर्वसाधारणले बताउँछन् ।

यस बिषयमा टेम्पो संघका अध्यक्ष सुरेन्द्र जिसँग सोधपुछ गर्दा उनले भने ‘हामीले विभिन्न ठाउँमा कर तिर्नु पर्छ । त्यसैले हामीले सो रकम लिने गर्छौं तर सबै टेम्पो चालकले दिँदैन ।’ त्यस्तै यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखसँग सोधपुछ गर्दा महिनावारीको बारेमा आफूहरुलाई केही थाहा नभएको र क्षमता भन्दा बढी सवारी बोकेका टेम्पो तथा ई-रिक्सालाई कार्वाहीको दायरामा ल्याउने बताएका छन् ।

कमेन्टहरु