एमाले महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना

जगत ठाडा मगर
२०८० माघ २८ | मध्यान्ह ०२:१० बजे

काठमाडौं, माघ २८ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटनामा परेको छ । शनिबार दिउँसो साढे तीन बजेतिर सुर्खेतबाट दैलेख जाने क्रममा महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको गाडी दैलेखको डुंगेश्वरमा दुर्घटना भएको हो ।
पोखरेल सकुशल रहेकाे पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । उनी दैलेख जिल्ला कमिटीको आठौं अधिवेशन उद्घाटनका लागि जाँदै थिए । चुप्रा बजार नजिकै गाडी सडक छेउमा पल्टिएको थियो । गाडीमा पाँच जना सवार रहेको र दुर्घटनामा एमाले कर्णालीकी उपसचिव पद्मा खड्काको हात भाँच्चिएको केन्द्रीय सदस्य रिजालले जानकारी दिए ।
गाडी पल्टिएपछि अर्को गाडीमा चढेर महासचिव पोखरेल जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका थिए ।उनको गाडी शनिबार नै सडकबाट उठाएर ग्यारेजमा बनाउन लगिएको दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले जानकारी दिए ।























