समाचार

प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउँदा अध्यक्ष हास्मी र मेसु ठाकुरद्वारा पत्रकार यादवमाथि दुर्व्यवहार

दिपेश कुमार शाह
२०८० माघ २७ | मध्यान्ह ०१:१० बजे

रौतहट, माघ २७ । प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक सुक्ष्म ढंगले आवाज उठाउँदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ । हाम्रो जिल्ला यस्तै स्वास्थ्य क्षेत्रमा धेरै पछाडि परेको छ ।

जिल्लामा ठूलो अस्पतालको रूपमा प्रादेशिक अस्पताल गौर एकमात्र रहेको छ तर यहाँ राजनीतिक चहलपहलले अहिले पाउनु पर्ने सेवासुविधा गरिब, निमुखा, मध्यम वर्गको बिरामीहरूले नपाएर निजी अस्पतालहरूमा मोटो रकम तिर्न बाध्य भइरहेको प्रष्टै छ ।

लगभग ६ महिनादेखि राजनीति र व्यक्तिगत स्वार्थ सिद्ध गर्न मेसु विवादले प्रादेशिक अस्पताल गौर अहिले गाउँ -घरको आधारभूत अस्पताल भन्दा खराब अवस्थामा पुगेको छ । दक्ष डाक्टर, कर्मचारी भएपनि राम्रोसँग व्यवस्थापन हुन नसक्दा कहिले स्वास्थ्यकर्मीहरू आफ्नो कामकाज बन्द गरिने सुचना आह्वान गर्छन् भने कहिले नेपाल सरकारले तोकेर पठाएको अौषधी अस्पतालमा नपाएर बाहिरको पसलबाट बिरामीहरू खरिद गर्न बाध्य हुन्छन् ।

यस्ता दर्जनभन्दा बढी समस्या अहिले अस्पतालमा देखापरेको कारणले पत्रकार मेवालाल यादवले पत्रकार मात्र नभई जिल्लाको नागरिकको हैसियतले माघ २६ गते अर्थात हिजो दिउँसो ३ बजेको समयमा ६ बुदें मागसहित सुचनाको हक अन्तर्गत टेकेर दर्ता गराउन अस्पताल पुग्दा अस्पताल संचालक समितिका अध्यक्ष मोहम्मद अनवर हास्मीले त्यहाँ दर्ता गर्न नदिने, यादवलाई बेग्लाबेग्लै किसिमको व्यवहार, गाली बेइज्जती, दुर्व्यवहार र कुटपिट समेत गरेका छन् । उसको साथमा मेसु डा. मुरारी ठाकुर लगायत अन्य कर्मचारीहरू समेतले यादवलाई विभिन्न धम्की दिएका छन् ।

यस्तो जघन्य अपराध गर्ने अपराधी मानसिकता व्यक्तिले अस्पताललाई सुधार गर्न आएको हो कि जनताको स्वास्थ्यसँग खेलवाड गर्न आएको रौतहट जिल्लाबासी सबैले मुल्यांकन गर्न यादवले अनुरोध गरेका छन् । यादवमाथि दुर्व्यवहार, कुटपिट र गाली जस्ता अनैतिक कार्य गर्नेलाई सम्बन्धित निकायले कानुन बमोजिमको कार्वाही गर्न अनुरोध गरेको साथै यादवले भोलि मुद्दा प्रक्रियामा समेत जाने बताएका छन् ।

कमेन्टहरु