माओबादी केन्द्रको नगर स्तरीय बैठक कृष्णनगरमा सम्पन्न


कृष्णनगर, माघ २५ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नवौं बैठक सम्पन्न भएको छ ।
बैठकको अध्यक्षमा नगर अध्यक्ष जाबेद आलम खां, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा कपिलवस्तु क्षेत्र नं ३ का संयोजक राजेन्द्र आचार्य, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा कृष्णनगर इन्चार्ज मौलाना मशहूद खां नेपाली रहेका थिए ।
बैठकमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि आचार्यले अहिले नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि जनताको पक्षमा धेरै राम्रा कामहरू गरेको, भ्रष्टाचारीहरूलाई कारबाहीको दायरामा ल्याएको, अहिले जनता माओबादी केन्द्र प्रति आकर्षित भएको र अब पार्टी देशव्यापी रूपमा सशक्त भएर जाने बताए ।
कार्यक्रममा बोल्दै मौलाना मशहूद खां नेपालीले भने ‘नेकपा माओबादी केन्द्रका अध्यक्ष हाम्रो घरका अभिभावक जस्तै छन्, अगुवाले भनेको कुरा हामीले मान्नु पर्ने हुन्छ, नेपालीहरू विदेश पलायन हुनु अहिलेको प्रमुख चुनौतीको रूपमा रहेको साथै माओबादी केन्द्र पार्टी जनयुद्ध र संघर्ष पार गरेर आएको पार्टी हो तसर्थ जनताको सुख दुःखमा सधै अग्रपंक्तीमा रहने गरिएको छ ।’
चार महिने पार्टी जनजागरण तथा शुद्धिकरण अभियानले जनताको घरदैलोमा पुगि जनताको मन मनमा माओबादी केन्द्रको उपस्थिति रहेको, मधेसी, जनजाति, आदिवासी, मुस्लिम, महिला , अल्पसंख्यक लगायतको हक अधिकार दिलाउन पार्टीको भूमिका अविस्मरणीय रहने नेपालीले बताए ।
साथै फाल्गुन १ गते भव्यताका साथ जनयुद्ध दिवस मनाउने गरि तयारीमा जुट्न पार्टी समर्थक सम्पूर्णलाई उनले आह्वान गरेका थिए । कार्यक्रममा गणेश प्रसाद बन्जाडे, तुफेल आलम खां, प्रहलाद यादव, अजय कुमार गोयल, खुर्सेद आलम खां, दयानन्द त्रिपाठी लगायत पार्टी समर्थक नेता कार्यकर्ताहरूको उपस्थित रहेको थियो ।























