लिम्पियाधुरा र लिपुलेक विनाको पुरानो नक्सा छापेको पाठ्यपुस्तक जफत गर्न शिक्षा मन्त्रीको निर्देशन


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले लिम्पियाधुरा र लिपुलेक विनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।
उनको सचिवालयका अनुसार मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बुधबारको बैठकमा पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि निर्देशन दिएका छन् । ‘तपाईंहरुले अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्’ उनले बैठकमा निर्देशन दिएका थिए ।
मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्ने माथि कडा कारबाही गरिने जानकारी दिए । ‘यस विषयमा तत्काल अनुगमन गर्ने छौं, गल्ती गर्ने प्रकाशक र बिक्रेता मथि कारबाही प्रक्रिया अघि बढाउनेछौं’ उनले थपे ।























