अपराध, बागमती प्रदेश

गैंडा मुद्दाका फरार अभियुक्त धमाधम पक्राउ

नवलपुर टुडे
२०८० माघ २५ | बिहान ०९:१० बजे

चितवन । २० वर्षअघि चितवन राष्ट्रिय निकुञ्जको टोलीले नन्दन ताल क्षेत्रमा खाग काटेर लगेको मृत गैंडा फेला पार्‍यो । २०६० माघ २० को उक्त घटनामा चार जना संलग्न भएको अनुसन्धानबाट खुलेको थियो । घटनामा संलग्न भएको आरोप लागेका चम्का जेठा र मुक्तिबहादुर भनिने मुक्तालाल पुन फरार थिए ।

निकुञ्जले फरार रहेका पुनलाई ०६७ जेठ २० मा १५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना सुनायो । घटनाको झन्डै दुई दशकपछि र सजाय सुनाएको साढे १३ वर्षपछि निकुञ्ज र त्यहाँ तैनाथ सेनाको टोलीले उनलाई गत पुस २४ मा राप्ती नगरपालिकाको सिमलटाँडीबाट समायो । त्यसै दिन माइला तामाङ भनिने सोनामसिंह वाइबा पनि पक्राउ परे । उनले ०६३ साउन २८ मा गैंडा मारेपछि लुक्दै हिँडेको निकुञ्जको आरोप छ ।

पुस २१ मा निकुञ्जले फुर्के भनिने गणेश कुमाललाई समातेको थियो । उनले ०७७ कात्तिक २० मा गैंडा मारेको निकुञ्जको आरोप छ । तीन वर्ष, १७ वर्ष या २० वर्षदेखि फरार भएका यी तीन मात्रै हैन, निकुञ्जले २५ वर्षअघि भएको घटनामा २३ वर्षअघि सजाय सुनाएका अन्य चार जनालाई पनि यस वर्ष पक्राउ गरेको छ । यीमध्ये तीन जनालाई १० वर्ष र एकलाई सात वर्ष कैद र जरिवाना भएको थियो ।

निकुञ्जले गत असोज ६ गते विष्णु कार्की, काले भनिने गोगनबहादुर क्षेत्री कार्की, यमबहादुर कार्की र हरि कार्कीलाई समाएको थियो । उनीहरूले ०५५ कात्तिक २८ मा निकुञ्जको पन्ना खोलामा गैंडा मारेर खाग बेचेको मुद्दा चल्यो । उक्त मुद्दामा उनीहरूलाई ०५७ माघ २५ मा निकुञ्जले सजाय सुनाएको थियो । अरूलाई १० वर्ष कैद, १ लाख जरिवाना र हरिलाई सात वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकियो । सजाय तोकेको भन्दा हरिले तेब्बर र अरूले दोब्बर समय फरार रहेरै बिताए । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार यो आर्थिक वर्षमा गैंडा मुद्दामा १९ जना समातिएका छन् । जसमा नयाँ घटनाका ९ जना मात्रै छन् ।

लोपोन्मुख वन्यजन्तु गैंडा मारेमा, अंगको कारोबार र ओसारपसार गरेमा १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । पछिल्लो गणनाअनुसार देशभर ७ सय ५२ गैंडा छन् । जसमध्ये सबैभन्दा धेरै ६ सय ९४ चितवन निकुञ्ज र आसपासका क्षेत्रमा छन् । गैंडाको नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि तस्करले गैंडा मार्छन् ।

‘निकुञ्जमा यस्ता संरक्षित जीवको चोरीसिकार नहोस् भनेर काम गर्न एन्टी पोचिङ युनिट छ,’ निकुञ्जका सूचना अधिकारी तिवारीले भने, ‘संरक्षण अधिकृतको नेतृत्वमा रहने यो युनिटले घटना भएमा अपराधी खोजी गरी कारबाही गर्छ । पछिल्लो समय यही युनिटको सक्रियतामा फरार भएकाहरू समातिएका हुन् ।’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि फरारहरूको निरन्तर निगरानी गर्ने उनले बताए ।

२१ वटा गैंडा मारेको अभियोगमा निकुञ्जले १९ वटा मुद्दा लगाए पनि फरार रहेका राजकुमार चेपाङलाई निकुञ्जले रेडकर्नर नोटिस जारी गरेर ०७१ माघमा मलेसियाबाट नेपाल ल्याएको थियो । यीबाहेक गैंडा मुद्दाका फरार प्रतिवादी प्रायः घरगाउँमै आएका बेलामा समातिएका छन् । कुनै बेला फरार खोज्दै भारतसम्म पनि जाने चलन थियो । ‘म भारततिर यस्तै फरारहरूको सूचना लिन गएका बेलामा निकुञ्जको हिरासतमा ०६३ सालमा एक जना आरोपितको मृत्यु भयो । त्यसपछि हामी नै हिरासत र थुनामा गयौं,’ सहायक संरक्षण अधिकृत हुँदा चितवन निकुञ्जमा एन्टी पोचिङ युनिटको नेतृत्व गरेका र पछि प्रमुख संरक्षण अधिकृत भएर अवकाशमा रहेका कमलजंग कुँवरले भने ।

२०५८ सालपछि चितवन निकुञ्जमा चोरीसिकारीले ३८ वटासम्म गैंडा मारेका थिए । फरार रहेकाहरूको विवरण व्यवस्थित बनाउने र निरन्तर निगरानी राख्ने गर्दा ढिलोचाँडो अपराधी समातिने उनले बताए ।

चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले वन्यजन्तु अपराधमा खास गरेर गैंडा मुद्दाका ८३ जना फरार रहेको बताए । ‘पछिल्लो पाँच वर्षको अवधिमा हामीले गैंडा मुद्दाका ७५ जनालाई समाएका छौं । जसमा २५ वर्षदेखि फरार रहेका समेत छन् । अझै पनि ०५५ सालदेखि फरार व्यक्ति छन्,’ तिवारीले भने ।

पहिला वन्यजन्तु अपराधमा निकुञ्जले नै आरोपित समाउने, अनुसन्धान गर्ने, निकुञ्जमै मुद्दा दायर गर्ने र निकुञ्ज प्रमुखले सजाय तोक्ने नियम थियो । २०७२ मा नेपालको संविधान जारी भएपछि जिल्ला अदालतमा मुद्दा दायर हुने गरेको छ ।

कमेन्टहरु