समाचार

नापी कार्यालय कलंकीका सर्भेक्षक र लेखापढी कर्मचारी १ लाख घुससहित पक्राउ

जगत ठाडा मगर
२०८० माघ २५ | बिहान ०७:१० बजे

काठमाडौं, माघ २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी कर्मचारी नेत्रमणि पोखरेललाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

अख्तियारको स्टिङ अप्रेसन टोलीले बुधबार साँझ कलंकीस्थित नापी कार्यालयमा सेवाग्राहीबाट घुसबापत १ लाख रुपैयाँ लिइसकेको अवस्थामा सर्भेक्षक चौलागाईं र लेखापढी कर्मचारी पोखरेललाई पक्राउ गरेको हो ।

आयोगका अनुसार चौलागाई र पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए । विशेष सूचनाको आधारमा त्यहाँ पुगेको अख्तियारको टोलीले उनीहरूलाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

कमेन्टहरु