देश

स्थगित कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

नवलपुर टुडे
२०७८ जेष्ठ २६ | बिहान ११:०२ बजे

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज (बुधबार) बस्ने भएको छ । एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गरेपछि मंगलबारको प्रदेशसभा बैठक स्थगित भएको थियो ।

प्रदेशसभाको बैठक सोमबार दिउसो २ बजे र बेलुका ५ बजे बसेको थियो। पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पोखेका थिए । दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले बैठक अवरुद्ध गरेका थिए।

मंगलबार बैठक सञ्चालनका लागि सरकार र प्रतिपक्षबीच लामो वार्ता भए पनि सहमति हुन नसक्दा बैठक बस्न सकेन। दुवै पक्षबीचको निष्कर्षविहीन वार्तालाई विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले जेठ २६ गते अपराह्न २ बजेसम्मका लागि बैठक स्थगनको सूचना प्रकाशित गरेको थियो।

कमेन्टहरु