राैतहटमा खसीकाे मासु मूल्य निर्धारण, बढी मुल्यमा बिक्री गरे कारबाही


रौतहट, माघ २० । रौतहट जिल्लाको मुख्य व्यापारिक केन्द्र गरुडा बजारमा निर्धारित दर भाउ भन्दा बढीमा खसीको मासु बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्नेभएको छ ।
बजार क्षेत्रमा केही व्यवसायीले मनपरी दरभाउमा खसीको मासु बिक्री गरेको पाइए पछि खसीको मासु मूल्य निर्धारण गरिएको छ । स्थानीय खसीको मासु ब्यवसायी र उद्योग बाणिज्य संघ गरुडाको संयुक्त बैठकले खसीको मासु दुई थरीको भाउ निर्धारण गरेको छ । आन्द्रा भुँडीसमेतको खसीको ताजा मासु प्रतिकिलो ९०० रुपैयाँ र आन्द्रा भुँडी नभएको मासु प्रतिकिलो ९५० को दरले बिक्री गर्नु पर्ने निर्णय भएको छ।
निर्धारित दर भन्दा बढी भाउमा बिक्री बितरण गर्ने ब्यवसायीलाई ५१ हजार रुपैयाँ जरिबाना गरिने उद्योग बाणीज्य संघ गरुडाका अध्यक्ष सतीश कुमार साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पछिल्लो समय गरुडा बजार क्षेत्र अन्तर्गत केही व्यवसायीले मनपर्दो भाउमा खसीको मासु बिक्री गरिरहेको गुनासो बढेपछि संघले उक्त पहल गरेको हो ।
गरुडा बजार क्षेत्रमा खसीको मासुको भाउ निर्धारण गरिए पनि सदरमुकाम गौर, कटहरिया लगायतको बजारमा हुन सकेको छैन । खसीको मासु प्रतिकिलो १ हजार रुपैयाँमा बिक्री भएपनि पछिल्लो समय देशमा देखिएको आर्थिक तरलताको प्रभावले अहिले भाउ घटेको विजय मिट तथा कटीया हाउस कटहरियाका सञ्चालक विजय साहले बताएका छन।























