समाचार

रौतहटको फतुया विजयपुर नगरपालिकामा फागुन ३ गते नगरसभा हुने

दिपेश कुमार शाह
२०८० माघ १८ | मध्यान्ह ०३:१० बजे

रौतहट, माघ १८ । लामो समयको विवादपछि रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यबाहक प्रमुख अम्बेया खातुन र असन्तुष्ट नेपाली कांग्रेसका वडा अध्यक्षहरु बीच सहमति भएलगत्तै नगरसभाको दिन निश्चित भएको छ ।

नगरपालिकामा मेयर खातुनको अध्यक्षतामा बसेको कार्यपालिका बोर्डको बैठकबाट दुईपक्षीय लिखित सहमति भएको हो । मेयर खातुन पक्ष र नेपाली कांग्रेसका वडा अध्यक्ष राकेश यादव लगायत पदाधिकारीको सहमतिमा आउँदो फागुन को ३ गते नगरसभा हुने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले बताएका छन् ।

गत असार १० गतेभित्र हुने नगरसभा हालसम्म नभएको कारण फतुवा विजयपुरका झण्डै ३५० जना शिक्षक कर्मचारीले हालसम्म तलब पाएका छैनन् । बैठकमा मेयर खातुनसँगै नेपाली कांग्रेसका असन्तुष्ट वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले बताएका छन् ।

फतुवा विजयपुरको मेयर गोपाल राय यादव नदीको टेन्डरको मुद्दामा अख्तियारद्वारा १५ लाख जरिवाना र ३ बर्ष कैदको फैसला गरेपछि उनी निलम्बित हुँदा उपमेयर खातुन कार्यवाहक बनेकी हुन् । उनी मेयरको जिम्मेवारी पाएपछि कांग्रेस निकट वडा अध्यक्ष तथा कार्यपालिका सदस्यबीच सहमति नभएको कारण हालसम्म नगरसभा हुनसकेको थिएन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गते उपसचिव सुरेन्द्र प्रधानलाई त्यहाँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि जनप्रतिनिधिहरुनै विभाजित भएका थिए । वडा ९ का अध्यक्ष पप्पु भन्ने राकेश राय यादवले उपसचिव प्रधान पहिलेनै कार्यरत रहि कोरोना कालमा अनियमितता गरेको आरोप लगाउँदै विरोध गर्दै आएका थिए ।

फतुवा विजयपुरमा नेपाली कांग्रेस पार्टीको टिकटबाट मेयर गोपाल राय यादव, उपमेयर अम्बेया खातुन ,७ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । पार्टीको बिना सहमति कार्यबाहक मेयर खातुनले एकोहोरो गरेको भन्दै कांग्रेसकै वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले बोर्डको बैठक बहिष्कार गर्दै आएको कारण हालसम्म नगरसभा हुन सकेको थिएन ।

कमेन्टहरु