तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन पेस


बुटवल, माघ १८ । प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्कोको विश्व सम्पदा केन्द्रमा पेस भएको छ ।
फ्रान्सका लागि नेपाली राजदूत एवं यूनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधीर भट्टराईले युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक लाजारे इलोन्डोलाई औपचारिक रुपमा मनोनयन दस्तावेज पेस गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै फ्रान्सको राजधानी पेरिसस्थित विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्तावेज पेस हुनु निकै खुसीको कुरा भएको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्त्व विभागसहित विज्ञका रुपमा दुर्हाम विश्व विद्यालयका प्रोफेसरहरुको टोलीले लामो समयदेखि गरेको कामले सार्थकता पाएको उनको भनाइ छ ।
तिलौराकोटलाई सन् २०२५ सम्ममा विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने तयारीसहित कोषका तर्फबाट आवश्यक प्रक्रिया सुरु भएकाले सबैको सकारात्मक साथ र सहयोग हुने अपेक्षा गरिएको सदस्य सचिव शाक्यले विज्ञप्तिमार्फत भनेका छन् ।
यूनेस्को जापानीज फण्ड इन ट्रष्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङ्घमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्त्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पर्याप्त आधार र प्रमाण जुटाइएको थियो ।
तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी सरकारी तथा सरोकारवाला निकायहरुबाट चाहिने आवश्यक सहयोग, स्रोत साधनको सुनिश्चिता, सरलता र मार्गनिर्देशका लागि निर्देशक समिति समेत गठन गरिएको थियो । उक्त समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष रहने व्यवस्था छ ।
सरकारले २०७८/०७९ को नीति तथा कार्यक्रममा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल गर्ने योजना राख्नुका साथै आवश्यक बजेट छुट्याएको थियो । विश्व सम्पदा समितिको ४५ औँ बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम गरिएको थियो ।
अन्तिम मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रुपमा पेस भएसँगै कपिलबस्तु तिलौराकोटलाई विश्व सम्पदा केन्द्रमा दर्ताका लागि विधिवत रुपमा प्रक्रिया अगाडि बढेको लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।
सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक पर्ने प्रमाण र आधार अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरुले रणनीतिक दस्तावेजमा सामेल गरिसकेको विज्ञप्तिमा उल्लेख छ । यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्त्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।
























