रमित ढुंगानाले निर्माण गर्न लागेको चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्रीको रोल खेल्दै केपी ओली


काठमाडौँ, माघ १४ । अभिनेता रमित ढुंगानाले चलचित्र ‘नमेटिने घाउ’ निर्माणको घोषणा गरेका छन् । आइतबार काठमाडौको नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर ढुंगानाले उक्त फिल्म निर्माणको घोषणा गरेका हुन् ।
चलचित्रमा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समेत देखिने भएका छन् । उक्त चलचित्रमा ओलीले ‘प्रधानमन्त्री’ को भूमिका निर्वाह गर्ने बताइएको छ । चलचित्रको निर्देशन रमित ढुङ्गानाले गर्नेछन् । यस चलचित्रबाट उनले निर्देशनको यात्रा सुरु गरेका हुन् ।
चलचित्र एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ । एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्नेछिन् । उनले पनि यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् । उनले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।
मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ ।























