दाङको तुलसीपुरमा घरको छतबाट खसेर एक किशोरीको मृत्यु

जगत ठाडा मगर
२०८० माघ १३ | मध्यान्ह ०१:१० बजे

दाङ, माघ १३ । दाङको तुलसीपुरमा घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका – ५ रानीजरुवाकी १८ वर्षीया कमला केसीको मृत्यु भएको हो ।
शुक्रबार बेलुका सवा सात बजेतिर आफ्नै एक तले घरको छतबाट खसेर केसी गम्भीर घाइते भएकी थिइन् । घाइते भएकी उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बाँकेको कोहलपुर मेडिकल कलेजका लागि रिफर गरिएको र त्यहाँ लैजाने क्रममा राति साढे ११ बजेतिर बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।
छतको रेलिङमा बसिरहेकी उनी सन्तुलन गुमाउन पुग्दा खसेको भन्ने कुरा खुलेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए । घटनाबारे अनुसन्धान जारी रहेको उनले बताए ।























