विचार/ब्लग

सफलता त कहिले असफलता

दिपेश कुमार शाह
२०८० माघ १३ | बिहान ०८:१० बजे

रौतहट । आफ्नो लक्ष्य प्राप्त गर्न अनवरत दौडँदा कहिले सफलता हात लाग्छ त कहिले असफलता । सफल हुँदा हामी खुसी हुन्छौँ भने असफल हुँदा दुःखी । यसरी हाम्रो जीवन सकारात्मक र नकारात्मक सोचाइको चक्करमा अल्झिरहन्छ ।

सकारात्मक सोच राखेर दिनचर्या अगाडि बढाउन सकेमा सफलता प्राप्त गर्न सहज हुन्छ । सोचाइ, परिवेश, वातावरणअनुसार सोच्ने तरिका फरक–फरक हुन्छ । त्यही सोचाइअनुसार नै जिन्दगी जिउने बानीको विकास हुन्छ । त्यसैले सकेसम्म सकारात्मक मात्र सोच्ने बानी बसाल्नुुपर्छ । कुनै वेला नकारात्मक सोचाइ आइहालेमा पनि तुरुन्त सकारात्मक शब्दले भर्नु राम्रो हुन्छ । किनकि, हामी एउटै सोच जति दोहोर्‍याउँछौँ, त्यो त्यति नै गहिरो रूपमा हाम्रो मस्तिष्कमा बस्छ । विचारको निरीक्षण गर्ने मनमा कहिले राम्रा त कहिले नराम्रा विचार आउनु स्वाभाविक हो ।

जस्तो विचार, भावना मनमा आउँछ, त्यस्तै खालको व्यवहार प्रस्तुत गर्छाैं । त्यसैले कस्तो वातावरण, कस्तो अवस्था हो, त्यसको विश्लेषण गरेर मात्र व्यवहार गर्न जरुरी हुन्छ । विचारलाई राम्रोसँग निरीक्षण गर्दै विवेकपूर्वक निर्णय गरेर मात्र व्यवहारमा उतार्नुपर्छ । आफूलाई प्रेम गर्ने हिजोआज प्रेम शब्द धेरै नै प्रयोग गर्ने गरिन्छ । प्रेमका नाममा धेरै पीडा पाएको पनि सुन्न पाइन्छ ।

हामीले प्रेम सबैभन्दा पहिला आफैँलाई गर्नुपर्छ । यसो भन्दा स्वार्थीजस्तो पनि लाग्न सक्छ । वास्तवमा प्रेम सबैभन्दा पहिला आफूलाई नै गर्नुपर्छ । जसले आफूलाई प्रेम गर्दैन, अरूलाई उसले प्रेम गर्नै सक्दैन । त्यसैले त हाम्रो चाहनाअनुसारको परिणाम नआउँदा दुःखी हुन्छौँ । आफूलाई नगरी अरूलाई गरेको प्रेममा स्वार्थ मिसिएको हुन्छ । जसले गर्दा आफूलाई प्रेम गर्न जान्ने मान्छेले अरूलाई प्रेम गर्दा आशक्ति हुँदैन ।खुसीको बहाना खोज्ने हामी अनेक बहानामा दुःखी भइरहन्छौँ ।

यस्तो बानीले हरेक सकारात्मक कुरामा पनि नकारात्मकता देख्न सक्छौँ । त्यसैले हामीले हरेक वातावरण, परिस्थितिमा खुसी हुने मौका खोज्नुपर्छ, बानी बसाल्नुपर्छ । सुरुसुरुमा अभिनय नै किन नहोस्, खुसी हुने बानी गर्नुपर्छ । पछि यो नै बानीमा परिवर्तन हुन्छ । त्यसपछि कुनै पनि अवस्थामा सहज रूपमा खुसी हुन सक्छौँ । कसैले गल्ती गरेको थाहा पाउनासाथ उसलाई नकारात्मक रूपमा हेरिहाल्छौँ । हामीले उक्त व्यक्तिलाई क्षमा दिन पनि सक्नुपर्छ ।हामीले प्रत्येक कुरा तथा कामका लागि धन्यवाद दिन जान्नुपर्छ । ठूलो कुराका लागि मात्र आभार प्रकट गर्ने तथा सानो कुरालाई बेवास्ता गर्ने धेरैको बानी हुन्छ । रान्डा ब्राइनले आफ्नो बहुचर्चित पुस्तक ‘सिक्रेट’मा अस्तित्वको आकर्षणको नियमबारे उल्लेख गरेकी छिन् ।

उनका अनुसार हामीले जस्तो सोच्छौँ, त्यस्तै अस्तित्वले पनि ऊर्जा फर्काइरहेको हुन्छ । त्यसैले सधैँ सकारात्मक भाव राख्ने गर्नुपर्छ । अस्तित्वबाट पनि सकारात्मक ऊर्जा नै दिइरहेको हुन्छ । हरेक कुरालाई अहोभाव प्रकट गर्ने बानी गरौँ, चाहे सकारात्मक होस् या नकारात्मक होस् ।हिजोआज योग, ध्यान विश्वव्यापी रूपमा प्रयोग भइरहेको छ । यसको बारेमा धेरै अनुसन्धान पनि भइरहेका छन् । नियमित योगा र ध्यानले शरीर, मन, भावनामा भएको नकारात्मक ऊर्जा हटेर सकारात्मक ऊर्जा बढ्न थाल्छ ।

जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन थाल्छ । हरेक जीवनको उतारचढावलाई राम्रोसँग सामना गर्ने शक्ति बढ्छ ।

कमेन्टहरु