समाचार

सिरहाको लहानमा मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव लहान एक्सपो २०८० हुने

रामएकवाल राम
२०८० माघ १२ | बिहान १०:१० बजे

लहान, माघ १२ । सिरहाको लहानमा मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव लहान एक्सपो २०८० हुने भएको छ । जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानको आयोजनामा श्री पशुपति आदर्श माध्यमिक विद्यालय लहानको प्राङ्गणमा मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव लहान एक्स्पो २०८० संचालन हुने भएको हो ।

महोत्सव अगामी चैत्र २९ गतेदेखि बैशाख ९ गते ११ दिनसम्म चल्ने संघका अध्यक्ष बिकाश शारदाले विहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।

महोत्सवमा १ करोड २० लाखको लगानीमा सञ्चालन हुनेछ भने १ करोड ५० लाखसम्म आम्दानी हुने लक्ष्य लिइएको मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव लहान एक्स्पो २०८० का कार्यक्रम संयोजक अशोक अमात्यले जानकारी गराए ।

महोत्सवमा नेपाल भारत पाकिस्तान र बंगलादेशका लगानी कर्ता एउटै मंचमा भेला गराई सामानहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी गराईने विशेषता रहेको छ । महोत्सवमा लगभग १ सय ५० वटा स्टल रहने बताईएको छ भने विभिन्न खाले संस्कृतिक कार्यक्रम, खेल र फैशन शो लगायतका कलाहरु प्रस्तुत गरिनेछ ।

लहान नगरपालिकाको संरक्षत्व रहने महोत्सवमा विभिन्न मन्त्रालयहरुको साथ सहयोग रहने सम्मेलनमा बताईएको छ । महोत्सव प्रवेशका लागी सर्वसाधारणहरुको लागि सय रुपैया शुल्क राखिएको छ भने विद्यार्थीहरुको लागी नि शुल्क रहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय कालाकारहरुको सहभागी रहने सो महोत्सवका २ लाख दर्शकले अवलोकन गर्ने बताईएको छ ।

कमेन्टहरु