साहुले हडपेको घर लहानमा मिटर ब्याज पीडितद्वारा पुनः कब्जा


लहान, माघ ६ । सिरहामा साहुले हडपेको घर मिटर ब्याज पीडितले पुनः कब्जामा लिएका छन । शनिबार जिल्लाको लहान नगरपालिका- ७ मा मिटर ब्याज पीडितहरूको एक समूहले साहु (महाजन) ले हड्पेको घर खाली गराएका छन।
साहु रामबाबु महतोले हड्पेको घर खाली गराएर मिटर ब्याज पीडितहरूको समूहले पीडित श्याम विश्वकर्मालाई उक्त घर हस्तान्तरण गरेका हुन । पीडित श्यामसहित दुई छोरा, श्रीमती र भतिजा-भतिजीसहित घर प्रवेश गरेका छन।
२०७१ सालमा महतोसँग श्याम विश्वकर्माका दाइ हिरालाल विश्वकर्माले १० लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिन महतोको नाममा १० धुर जग्गा र घर रजिस्ट्रेशन पास गरिदिएका थिए । ब्याजसहित ऋण चुक्ता गरेपछि घरजग्गा फिर्ता गर्ने सहमति भएको थियो। तर ऋणी हिरालालको निधन भयो । त्यसपछि उनका भाई श्यामले पटक पटक गरी २१ लाख रुपैयाँ महतोलाई बुझाए । २०७७ सालमा महतोले ५७ लाख हिसाब सुनाए र तिर्न नसके घर खाली गर्न श्यामलाई चेतावनी दिए।
पीडित श्याम भन्छन चर्को ब्याजसहित रामबाबुले मलाई ५७ लाख तिर्नुपर्ने भन्न थाल्यो । त्यति रकम म तिर्न सकिनँ । पछि धाक धम्की लगाएर घर खाली गर्न लगायो । साहु रामबाबुले घर कब्जा गरेपछि आफू भाडामा बस्दै आएको थिए श्यामले भने रामबाबुले घर भाडामा लगाएको थियो । भाडामा बस्नेहरूलाई म पटक पटक खाली गर्न भन्दै आएका थियौँ । तर खाली नगरेपछि साथीहरूको सहयोगमा भाडेदारको सामानहरु बाहिर प्यासेजमा राखेर हामी बस्न सुरु गरेका छौँ।
घर खाली गर्न लाग्दा साहु रामबाबुले प्रहरीलाई बोलाए । प्रहरी पुगेपछि जवर्जस्ती घरमा पस्न नदिने प्रयास गर्दा पनि असफल बन्यो । प्रहरीको अवरोध छल्दै पीडित श्याम घर प्रवेश गरे । श्यामलाई सहयोग गर्न सयौँ मिटर ब्याज पीडितहरू पुगेका थिए ।
सिरहामा मिटर ब्याज पीडितहरूले साहुले हड्पेको सम्पति फिर्ता लिने अभियान नै चलाएका छन । यसअघि सिरहाकै सन्हैठामा साहुले जग्गा कब्जा गरी लगाएको धान पीडितहरूले भित्र्याएका थिए ।























