देश

कोरोना महामारीको दोस्रो लहरमा ९५० पत्रकार संक्रमित, १९ जनाको मृत्यु

नवलपुर टुडे
२०७८ जेष्ठ २४ | मध्यान्ह ०२:०२ बजे

काठमाडाैं- कोरोना महामारीको दोस्रो लहरमा देशभरका ९५० जना पत्रकार संक्रमित भएका छन्। संक्रमित भएकामध्ये १९ जनाको मृत्यु भएको नेपाल पत्रकार महासंघले जानकारी दिएको छ।

महासंघका महासचिव रोशन पुरीका अनुसार हाल देशभर २०० जनाभन्दा बढी पत्रकार सक्रिय संक्रमित रहेका छन्। उनले फिल्डमा खटिने पत्रकार कोरोना संक्रमणमा पर्ने क्रम बढेको भन्दै सचेत रहन आग्रह गरेका छन्।

कोरोना संक्रमणबाट पत्रकारहरु संक्रमित हुने दर दिनदिनै बढेको उनले बताए। महासंघले फिल्डमा समाचार संकलन गर्ने पत्रकारहरुले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ।

कोरोना संक्रमणको तेस्रो लहरको जोखिम पनि सँगसँगै आउने भएकोले पत्रकारहरुले आपतकालीन अवस्थामा चाहिने अत्यावश्यक सामग्री राख्न पत्रकारहरुलाई आग्रह गरेको छ। महासंघले जिल्ला शाखाबाट पनि समन्वय र सहयोग गर्ने भन्दै महासंघको सूचनाको सञ्जालमा आउन आग्रह गरेको छ।

कोरोना संक्रमणको जोखिम बढिरहेको बेला पत्रकारहरुको श्रमसँग जोडिएका समस्या उजुरीको रुपमा महासंघमा आउन थालेको महासचिव पुरीले बताए। महासंघमा उजुरी परेका ५० जना पत्रकारहरुमध्ये २९ जनाको समस्या समाधान भएको उनले बताए।

पछिल्लो समय पत्रकारको श्रमसँग जोडिएको समस्या महासंघ एक्लैले समाधान गर्न नसक्ने भएकोले सरकारले समेत अग्रसरता देखाउनुपर्ने आवश्यकता रहेको महासंघले निष्कर्ष निकालेको पनि उनको भनाइ छ।

सरकारले पत्रकार र श्रमसँग जोडिएको कानुनको प्रभावकारी कार्यान्वयन गराउने हो भने समस्या समाधान छिटो हुने महासचिव पुरीले बताए।

कमेन्टहरु