देश

यौन दुर्व्यवहारमा परेका राउटे युवतीको ज्यान खतरामा छ : राष्ट्रिय मानवअधिकार आयोग

नवलपुर टुडे
२०७८ जेष्ठ २३ | मध्यान्ह ०६:०२ बजे

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार भएको घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको हो । घटनाको अनुगमन पछि एक विज्ञप्ति जारी गर्दै आयोगले पीडित युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्ने सम्भावना देखिएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘स्थानीय तीनजना युवाहरुले राउटे समुदायका दुई जना युवतीलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर यौनजन्य कार्य गर्न वाध्य बनाएको, उक्त घटनाका कारण निज युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको छ ।’

यसअघि पनि ती दुई युवतीहरूलाई राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी बन्दी बनाएको अनुगमनबाट जानकारी प्राप्त भएको आयोगले जानकारी दिएको छ । आयोगले पीडित युवतीहरूको गोपनीयताको संरक्षण गर्दै तत्काल स्वास्थ्य परीक्षण गर्न, उनीहरुको भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ ।

आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले यस सम्बन्धमा अनुगमन गरेको थियो । ती युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक बिनोद पुन मगरलाई पक्राउ गरेको थियो ।

कमेन्टहरु