राउटे युबतीलाई यौन दुर्व्यवहार गरेको प्रति नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण (बिज्ञप्ती सहित)


काठमाडौ । नेपाल आदिवासी जनजाति महासंघले राउटे समुदायका युवती माथि यौन दुर्व्यवहार भएको घटना प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघले उक्त घटना प्रति आपत्ति जनाए जनाउँदै घट्नामा संलग्नलाई कार्बाहीको माग गरेको हो । महासंघले घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन मगर तथा संलग्न व्यक्तिहरू चमन घर्ती (जोगी) र भुपेन्द्र बुढा माथि तत्काल अनुसन्धान गरी कानून बमोजिम कडाभन्दा कडा कार्बाही अगाडि बढाउन कर्णाली सरकार र संयन्त्रहरु तथा सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ ।

महासंघले विज्ञप्तिमा भनिएको छः ‘यस घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा संलग्न व्यक्तिहरू चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कानून बमोजिम कडा भन्दा कडा कारवाही अगाडि बढाउन सम्बन्धित राज्य सरकार र संयन्त्रहरु तथा सम्बन्धित सम्पूर्ण निकायहरूलाई महासंघ जोडदार आग्रह गर्दछ । विभिन्न बहानामा सत्ता र शक्तिको दुरूपयोग गर्दै अनुसन्धान कमजोर बनाउने, अभियुक्तहरूलाई उन्मुक्ति दिनेजस्ता कार्यहरू सम्बन्धित जिम्मेवार संयन्त्रहरूबाट नहोस् भन्ने गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’
महासंघले कानूनी राज्यको प्रत्याभूत दिलाउन सम्बन्धित (स्थानीय तह, प्रदेश, संघीय) सरकार, न्यायालय, प्रहरी प्रशासन र मानवअधिकारवादी संस्थाहरूलाई गम्भीर हुन र न्याय प्रत्याभूत गर्न गराउन समेत विशेष आग्रह गरेको छ ।
अहिले राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक बिनोद पुन मगरलाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरेको छ ।























